काठमाडौं– नेपालमा बाली तथा पशुपंक्षी बिमाप्रति आकर्षण बढ्दै गएको छ।
सरकारले बाली तथा पशुपंक्षी बिमामा अनुदान कार्यक्रम अघि सारेसँगै कृषि बिमामा आकर्षण बढ्दै गइरहेको बिमा समितिले जनाएको छ।
सरकारले बाली तथा पशुपंक्षी क्षेत्रलाई प्रवर्द्धन तथा विकास गरी बाली र पशुपालन क्षेत्रको जोखिम न्यूनीकरणका लागि २०७० सालदेखि कृषि बिमा कार्यक्रम अघि सारेको हो।
कृषि बिमा कार्यक्रम सुरु भएदेखि हरेक आर्थिक वर्षमा कृषि बिमा शुल्क उल्लेख्य संकलन भएको बिमा समितिको तथ्यांकले देखाउँछ।
बिमा समितिकी उपनिर्देशक पुनम ज्ञवाली श्रेष्ठले कृषकहरुलाई प्रोत्साहन गर्न सरकारले अनुदान प्रदान गरेसँगै कृषि बिमाप्रतिको आकर्षण बढ्दै गइरहेको बताइन्। ‘अघिल्ला वर्षहरुको तथ्यांक हेर्दा पनि कृषि बिमामा कृषकहरुको आकर्षण क्रमशः बढ्दै गएको देखिन्छ, यस वर्ष झनै कृषि बिमामा कृषकहरुको आकर्षण बढ्ने देखिएको छ,’ उनले भनिन्।
बिमा समितिका सूचना अधिकारी निर्मल अधिकारीको भनाइ पनि उपनिर्देशक ज्ञवालीको बुझाइसँग मेल खान्छ। कृषि बिमामा किसानले तिर्नुपर्ने बिमा प्रीमियम वापतको ७५ प्रतिशत रकम सरकारले तिरिदिन थालेपछि पनि किसानहरुको आकर्षण बढ्दै गएको उनको भनाइ छ। ‘किसानहरुले बिमा प्रीमियमवापत २५ प्रतिशतमात्रै बेर्होनु पर्छ, सरकारले कृषि बिमामा निकै ठूलो सहयोग पुर्याएसँगै यसतर्फ किसानहरुको आकर्षण बढेको हो,’ उनले भने।
यस्तो छ तथ्यांक
कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गरी राष्ट्रिय अर्थतन्त्रमा यस क्षेत्रको योगदान वृद्धि गर्ने लक्ष्य लिएको सरकारले २०७१ साउन १ गतेदेखि बिमा शुल्कको ७५ प्रतिशत रकम अनुदान उपलब्ध गराउने नीति लिएको थियो। त्यसभन्दा अगाडि २०७० साउन १ गते सरकारले कृषि बिमाको ५० प्रतिशत प्रिमियम मात्रै किसानलाई अनुदान उपलब्ध गराउने नीति लिएको थियो।
कृषि बिमालाई थप प्रभावकारी बनाउन कृषि तथा पशु विकास मन्त्रालय र बिमा समितिको सहकार्यमा कृषि बिमा अभिकर्ता तालिमलगायत अन्य प्रवर्द्धनात्मक कार्यक्रम ल्याइने समितिले जनाएको छ।
आर्थिक वर्ष २०७०/०७१ देखि २०७४/०७५ सम्मको कृषि बिमाको तथ्यांकमा हरेक वर्ष किसानहरुमा युवा आकर्षण बढ्दै गइरहेको छ।
.jpg)
आर्थिक वर्ष २०७०/०७१ मा ६२ करोड ५४ लाख ४ हजार ६ सय १३ रुपैयाँ विमाङ्क रकम संकलन भएको थियो।
सरकारले २०७१ साउन १ गतेदेखि बिमा शुल्कको ७५ प्रतिशत अनुदान उपलब्ध गराउने नीति अघि सारेसँगै आव २०७१/०७२ मा सो आँकडा करिब ५ गुणाले बढेको थियो। उक्त वर्ष ३ अर्ब १८ करोड ६८ लाख ३३ हजार ८ सय ९५ बिमांक रकम संकलन भएको बिमा समितिको तथ्यांकमा उल्लेख छ।
उक्त वर्ष अघिल्लो वर्षको तुलनामा २ अर्ब ६१ करोडभन्दा बढी बिमांक रकम संकलन भएको हो।
आव २०७२/०७३ मा ६ अर्ब ३८ करोड, ४ लाख १२ हजार २ सय २४ बिमांक रकम संकलन भएको समितिको तथ्यांकले देखाएको छ। सोही अवधिमा २७ करोड ८७ लाख ४५ हजार ८० बिमा शुल्कवापत रकम आर्जन भएको छ।
त्यस्तै आव २०७३/०७४ मा ९ अर्ब २४ करोड ५० लाख ६१ हजार ८ सय १५ बिमांक रकम संकलन भएकोमा ४२ करोड ५९ लाख २४ हजार ७ सय ४ बिमा शुल्कवापतको रकम आर्जन भएको थियो। यस आवमा सरकारले ३१ करोड ९४ लाख ४३ हजार ५ सय २८ रुपैयाँ प्रिमियम रकम अनुदान दिएको थियो।
अघिल्लो आव २०७४/०७५ मा १३ अर्ब २२ करोड २५ लाख ८९ हजार २४ रुपैयाँ बिमांक रकम संकलन भएको थियो। ५७ करोड ४० लाख ९८ हजार ८ सय ३७ रुपैयाँ बिमा शुल्क वापत आर्जन भएकोमा अनुदानतर्फ सरकारले कृषकहरुको ४३ करोड ५ लाख ७४ हजार १ सय २८ रुपैयाँ प्रिमियम रकम बेहोरेको थियो।
५ वर्षको अवधिमा कृषि बिमातर्फ ३२ अर्ब ३१ करोड ८३ लाख १ हजार ५ सय ७१ रुपैयाँ बराबर बिमांक रकम संकलन भएको समितिको तथ्यांकले देखाएको छ।
१० महिनामा १६ अर्ब कृषि बिमा शुल्क संकलन
बाली तथा पशुपंक्षी बिमाअन्तर्गत गत आव २०७५/०७६ को १० महिना (साउनदेखि बैसाख मसान्तसम्म)मा बाली बिमातर्फ ७५ करोड २२ लाख ९ हजार बराबरको बिमांक रकम संकलन भएको छ भने पशुपंक्षी बिमातर्फ १५ अर्ब ५३ करोड ५५ लाख ४१ हजार रुपैयाँ बराबर बिमांक रकम संकलन भएको छ।
बाली र पशुपंक्षी बिमा गरेर १६ अर्बभन्दा बढी बिमांक रकम संकलन भएको समितिको तथ्यांकले देखाउँछ।
.jpg)
सोही अवधिमा बिमा समितिले बाली बिमाअन्तर्गत ३ करोड ५७ लाख ८७ हजार रुपैयाँ र पशुपंक्षी बिमाअन्तर्गत ६९ करोड ४३ लाख ३१ हजार बराबर बिमा शुल्क आर्जन भएको छ।
उक्त १० महिनाको अवधिमा बाली बिमामा २ करोड ६८ लाख ४० हजार ५ सय ६ रुपैयाँ र पशुपंक्षी बिमामा ५२ करोड ७ लाख ३१ हजार रकम सरकारले अनुदान दिएको समितिले जनाएको छ।
के हो कृषि बिमा? यस्ता जोखिम समेटिन्छन्
कृषि बिमा जोखिम व्यवस्थापनको औजार हो। यसले सम्भावित जोखिमबाट हुनसक्ने क्षतिविरुद्ध वित्तीय सुरक्षा उपलब्ध गराउँछ।
बालीनालीमा लाग्ने किरा, रोग तथा खडेरी, बाढी इत्यादिको जोखिम तथा पशुहरुमा लाग्ने रोग, बाघ, भालुलगायतका जंगली जनावरबाट हुने आक्रमण आदिको जोखिमको भार कृषकमा कम रहोस् भन्न कृषि बिमा गरिन्छ।
कृषि बिमाले कृषि क्षेत्रमा प्राकृतिक वा अन्य कारणले हुन सक्ने क्षतिका विरुद्ध आर्थिक सुरक्षाको सुनिश्चितता प्रदान गर्दछ। जसले गर्दा किसानहरुलाई ढुक्कसँग कृषिमा लगानी गर्न प्रोत्साहन प्राप्त गर्दछन्।
बाली तथा पशुपंक्षी बिमाले कृषि, भूकम्प, बाढी, पहिरो तथा डुबान, खडेरी, , आँधी, असिना, हिउँ तुसारो, आकस्मिक दुर्घटनाजन्य बाह्य कारणहरु लगायतका जोखिम समेटिन्छन्।
बाली बिमातर्फ तरकारी (लागतमा आधारित आलु, च्याउ), अन्नबाली, घाँसे बाली, मसला( अदुवा, बेसार, अलैँची), फलफूललगायत अन्य चियाकफी जस्ता कृषि उत्पादनको बिमा गर्न सकिन्छ।
पशुपंक्षी बिमातर्फ विभिन्न किसिमका घरपालुवा जनावरहरु एवम् कुखुरा, अस्ट्रिच, हाँसलगायत पंक्षीहरुको बिमा गर्न सकिन्छ।
माछापालन गर्दासमेत किसानहरुले जोखिम न्यूनीकरणका लागि माछा बिमा गर्न सक्छन्।
(सबै तस्बिरहरु रुपन्देहीस्थित 'मोर्डन इन्टिग्रेटेड एग्रो फार्म'का हुन्। तस्बिर- लिलु डुम्रे)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।