काठमाडौं- राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको निर्माण कार्यका लागि आयोजना र चिनियाँ कम्पनी गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कम्पनीबीच सम्झौता भएको छ। चिनियाँ कम्पनीले नेपाली कम्पनी रमण जेभीसँग सहकार्य गरेर आयोजनाको बाँध निर्माणको काम गर्नेछ।
आयोजनाको टेन्डर आह्वानपछि प्राविधिक परीक्षणमा ५ वटा निर्माण कम्पनी छनोट भएका थिए। आर्थिक प्रस्तावनामा पछि ५ वटै निर्माण कम्पनी छनोट भए। जसमा गुवाङडुवाङ युएनटिएन इन्जिनियरिङ कंपनी–रमण जेभीले सबैभन्दा कम ६ अर्ब १६ करोड रुपैयाँमा आफ्नो प्रस्तावना हालेको थियो।
आयोजनाको दोस्रो चरणअन्तर्गत हाइड्रोपावरसँग सम्बन्धित संरचना हेडवर्क्स्, सर्ज साफ्ट, पेनस्टक, पावरहाउसको संरचनाहरु निर्माण हुनेछन्। नदीमा ६ ओटा ढोकासहितको बाँध निर्माण गरिनेछ। उक्त बाँध १ सय १४ मिटर लामो र १४ मिटर अग्लो रहनेछ।
आयोजनाको दोस्रो चरणको निर्माण कार्य आर्थिक वर्ष २०७९/८० मा सक्नेगरी ६ अर्ब १६ करोड रुपैयाँमा सम्झौता भएको छ।
चिनियाँ कम्पनीले युएनटिएनले नेपाली कम्पनी रमण कन्स्ट्रक्सन सँग ‘जोइन्ट भेन्चर’मा आयोजना निर्माण गर्न लागेको हो। युएनटिएनले यसअघि चीनका १९ वटा प्रान्तलगायत ८ भन्दा बढी अन्य देशमा विभिन्न जलविद्युत आयोजा, रेल ट्रान्जिट, इलेक्ट्रिक पावरलगायत आयोजनाको काम गरिसकेको छ।
३३ अर्ब १९ करोड लागत अनुमान गरेर काम अघि बढाइएको भेरी–बबई आयोजनाअन्तर्गत भेरी नदीको पानीलाई बबई नदीमा डाइभर्सन गरी करीब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याइनेछ। सोही आयोजनाबाट ४६ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।