भैरहवा- भैरहवा भन्सार कार्यालय बेलहियाले लक्ष्य अनुसारको राजश्व संकलन गर्न असफल बनेको छ। अघिल्लो आर्थिक वर्षमा लक्ष्य अनुसारको राजश्व संकलन गर्न नसकेको कार्यालयले गत आर्थिक वर्ष २०७५/०७६ मा पनि सोही नतिजा दोहोर्याएको छ।
मुलुककै दोस्रो ठूलो भन्सार नाका भैरहवा भन्सार कार्यालय बेलहियाले केही वर्षयता लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल हुँदै आएको छ। आर्थिक वर्ष २०७५/०७६ मा ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा कार्यालयले ८२ अर्ब ३१ करोड रुपैयाँ अर्थात ८७ दशमलब ६० प्रतिशत मात्र संकलन गर्न सकेको हो।
अघिल्लो वर्ष ७० अर्ब ८ करोड रुपैयाँ राजस्व संकलन गरिएकोमा गत आवमा राजस्व संकलन भने बढेर भएको छ। राजस्व संकलनकै हिसाबमा अघिल्लो वर्षभन्दा गत वर्ष बढी भए पनि लक्ष्य बढी दिइएको र राजस्वका श्रोतहरु घट्दै गएकोले लक्ष्य हासिल गर्न असफल भएको प्रमुख भन्सार अधिकृत कमलकुमार भट्टराईले जानकारी दिए। उनले छोटी भन्सारलाई पनि मुल भन्सार सरह कायम गरिएको हुँदा लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको दाबी गरे।
अघिल्लो वर्ष ७० अर्ब राजस्व संकलन भए पनि गत आर्थिक वर्षमा उक्त तथ्यांकमा ३४ दशमलब ०६ प्रतिशत बढाएर ९३ अर्ब ९५ करोड रुपैयाँ लक्ष्य पुर्याइएको थियो। मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीको समयमा वीरगन्ज लगायतका ठूला भन्सार कार्यालयहरु बन्द भए पनि भैरहवा भन्सार कार्यालय सुचारु रहेको थियो।
अन्य भन्सार कार्यालयबाट भित्रिने समान भैरहवा हुँदै नेपाल प्रवेश गरेपछि भैरहवा भन्सार कार्यालयको राजस्व असुली ह्वात्तै बढेको थियो। त्यसपछि आयात घटेसँगै राजस्व असुली दर पनि घट्दै जाँदा भैरहवा भन्सार कार्यालयमा लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको भन्सार कार्यालयका सूचना अधिकारी कलिराम पौडेलको दाबी छ।
भन्सार विभागले दिएको मासिक लक्ष्य अनुसारको राजश्व असोज महिनामा मात्र संकलन गरेको तथ्याङकमा देखिन्छ। असोज महिनामा ६ अर्ब ५७ करोड ७१ लाख ८३ हजार राजस्व असुली लक्ष्य दिइएकोमा कार्यालयले ९ अर्ब ६८ करोड २३ लाख १३ हजार रुपैंयाँ संकलन गरेको थियो। अन्य कुनै पनि महिनामा कार्यालयले तोके अनुसारको राजश्व उठाउन सकेको देखिँदैन।
चालू आर्थिक वर्षमा गत आवभन्दा झन्डै १२ अर्ब बढी रकम अर्थात १ खर्ब ६ अर्ब रुपैंयाँ बराबरको राजश्व असुल गर्ने सरकारले लक्ष्य दिएको छ। जुन अहिले उठेको राजश्वभन्दा २९ प्रतिशत बढी हो।
२ खर्ब २५ अर्ब व्यापार घाटा
भैरहवा भन्सार कार्यालयको आयात निर्यातको अवस्था हेर्दा गत आवमा व्यापार घाटा २ खर्ब २५ अर्ब बढी देखिएको छ।
मुलुककै दोस्रो ठूलो नाकाको रुपमा रहेको भैरहवा भन्सार कार्यालयबाट वस्तु आयातको तुलनामा निर्यात ज्यादै कम हुँदा व्यापार घाटा बढ्दै गएको हो। नेपालका लागि प्रायः वस्तुहरु भारतबाट आयात हुने गरेका छन् भने त्यसको तुलनामा नेपालबाट भारतलगायत तेस्रो मुलुकमा निर्यात हुने वस्तुहरुको परिमाण न्यून रहेको छ।
भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत आवमा ४ अर्ब ४५ करोड रुपैयाँको मात्र वस्तु निर्यात भएको देखिन्छ। यसैगरी सोही नाका हुँदै २ खर्ब २९ अर्ब ४ करोड बराबरको सामाग्री नेपाल भित्रिएको छ।
भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत भट्टराईका अनुसार कूल व्यापारमा यस कार्यालय हुँदै ९८ दशमलब ०६ प्रतिशत आयात हुने गरेको बताए। उनले १ दशमलव ९४ प्रतिशत मात्र निर्यात हुने गरेको उल्लेख गरे। यस तथ्याङकलाई विश्लेषण गर्दा गत आवमा मात्रै मुलुकले यस भन्सार नाकाबाट २ खर्ब २५ अर्ब रुपैंयाँ व्यापार घाटा बेहोरेको देखिन्छ।
यद्यपि, आर्थिक वर्ष २०७४/०७५ को तुलनामा गत आवमा निर्यात केही बढे पनि समग्रमा व्यापार घाटा ९८ प्रतिशत बढी रहेको कार्यालयले जनाएको छ। भैरहवा भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार नेपालबाट भारततर्फ सबैभन्दा बढी सेन्थेटिक यार्न निर्यात हुने गरेको छ। त्यसपछि रद्दी एवम् कबाड सामाग्री निर्यात हुने गरेको छ। नेपालका विभिन्न स्थानबाट संकलन गरिएको काम नलाग्ने कबाड सामाग्रीहरु यस नाका हुँदै निर्यात हुने गर्दछ।
भैरहवा भन्सार कार्यालयले चालू आवमा निर्याततर्फ सबैभन्दा बढी राजश्व सेन्थेटिक यार्नमा देखिएको बताइएको छ। यसैगरी बोरा, झोला तथा अन्य कपडा पदार्थसमेत निर्यात हुने गरेको छ। गत आवमा रद्दी कागज मात्र ३३ करोड ८४ लाख रुपैयाँ बराबरको तथा अन्य रेसाको कपडा ३६ करोड रुपैयाँको निर्यात भएको भैरहवा भन्सार कार्यालयले जानकारी दिएको छ।
प्रमुख भट्टराईले भैरहवा भन्सार हुँदै मुख्यगरी कबाड, विभिन्न मसलालगायतका वस्तुहरु नेपालबाट भारतलगायत अन्य मुलुकहरुमा निर्यात हुने गरेको बताए।
मोटरसाइकल आयात गर्दाको राजस्व ४५ प्रतिशतले बढ्यो
नेपालले गत आवमा भारतबाट सबैभन्दा बढी मोटरसाइकल भैरहवा भन्सार कार्यालयबाट भित्र्याएको छ। अघिल्लो आवमा मोटरसाइकलबाट ८ अर्ब ४९ करोड रुपैयाँ राजस्व असुली गरेको भैरहवा भन्सारमा गत आवमा ४४ दशमलब ७० प्रतिशतले बढेर १२ अर्ब २९ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। गत आवमा भैरहवा भन्सारबाट मात्र १ लाख ४५ हजार ८ सय ७९ वटा मोटरसाइकल नेपाल आएका छन्।
यस्तै जिप, कार र भ्यानहरु ७ हजार २ सय ८१ वटा नेपाल भित्र्याइएकोमा कार्यालयले १० अर्ब ३५ करोड २७ लाख रुपैयाँ राजस्व असुली गरेको छ। नेपालमा बढी भित्रिनेमा एमयस बिलेट पनि रहेको छ। गत आवमा ४ लाख ३० मेट्रिक टन बिलेट भित्रिएकोमा ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको भन्सार कार्यालयको तथ्यांकबाट देखिन्छ।
भारतबाट नेपालतर्फ विशेषगरी जिप, कार र भ्यानबाहेक मोटसाइकल, एमएस विलेट, हाइस्पिड डिजल, ग्लेज टाइल, डबल क्याव पिकअप गाडी, ट्रक, मिनी ट्रक, पेट्रोललगातका वस्तु आयात हुने गरेका छन्।
गत वर्षहरुमा अत्याधिक आयात भएको सिमेन्ट क्लिङ्कर, चिनी, मदिरा बनाउने स्प्रिटलगायतको आयात भने घटेको छ। आव २०७४/०७५ मा चिनीमा मात्र ६ करोड रुपैयाँ बढी राजस्व असुल गरेको भैरहवा भन्सारले गत आवमा ९२ प्रतिशत चिनीको आयात घटी करिब ५१ लाख रुपैयाँ मात्र राजस्व असुली भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।