काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज दिउँसो सार्वजनिक गर्ने भएको छ। चालु वर्षका लागि सरकारले बजेट ल्याएको करिब दुई महिनापछि केन्द्रीय बैंकले मौद्रिक नीति ल्याएको हो।
राष्ट्र बैंकले यसअघि नै ल्याएका नीतिलाई निरन्तरता दिँदै नयाँ मौद्रिक नीति ल्याउन लागेको छ। आफ्नो पहिलो मौद्रिक नीतिमार्फत बैंक तथा पुँजी वृद्धिको नीति लिएका गभर्नर डा चिरञ्जीवी नेपालले अन्तिम मौद्रिक नीतिमार्फत वित्तीय संस्थाको मर्जरलाई जोड दिने तयारी गरेका छन्।
सरकारले राखेको उच्च आर्थिक विकास र न्यून मुद्रास्फीति लक्ष्यको बीचमा मौद्रिक सन्तुलन मिलाउनु राष्ट्र बैंकका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ। सरकारले चालु वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य राखेको छ।
यसैगरी प्राथमिकता प्राप्त क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको लगानी वृद्धिका लागि पनि मौद्रिक नीतिले दबाब दिने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्। कृषि, जलविद्युत लगायतका क्षेत्रमा बाध्यकारी लगानी बनाए पनि त्यसको कार्यान्वयन नभएपछि दबाब दिने तयारी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।