काठमाडौं- अमेरिकामा हुने ५ दिने कार्यक्रमका लागि अर्थ मन्त्रालयका ६ जना उपसचिव र ४ जना अधिकृत २० दिनको बिदा लिएर त्यसतर्फ प्रस्थान गरेका छन्। अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग संस्था (युएसएआइडी)को आयोजनामा हुने ५ दिने तालिम कार्यक्रममा सहभागी हुन अर्थका १० कर्मचारी त्यसतर्फ प्रस्थान गरेका हुन्।
अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका उपसचिवहरु थानप्रसाद पंज्ञानी, तीर्थराज चिलुवाल, मित्रलाल अधिकारी, गौरीशंकर अधिकारी, मोहनसिंह बस्नेत र चन्द्रबहादुर श्रेष्ठ अमेरिका प्रस्थान गरेका छन्।
यसैगरी यही महाशाखाका शाखा अधिकृतहरु पार्वती न्यौपाने, सुबोध खतिवडा, मनोज रेग्मी र कम्प्युटर इन्जिनियर प्रतीक्षा पराजुली अमेरिका प्रस्थान गरेका छन्। लाइन मिनिस्ट्री बजेटरी इन्फर्मेसन सिस्टमबारे तालिम लिन उनीहरु अमेरिका गएका हुन्।
बजेट तथा कार्यक्रम महाशाखा अर्थ मन्त्रालयको सबैभन्दा धेरै कामको बोझ हुने महाशाखा हो। यसैबाट १० जना कर्मचारी एकैपटक विदेश जाँदा महाशाखाको अधिकांश काम प्रभावित बनेको छ। महाशाखाका अधिकांश ढोका लगाइएका छन्।
'धेरै कर्मचारी एकैपटक विदेश जाँदा त्यहाँबाट हुनुपर्ने सामान्य काम प्रभावित बनेको छ,' स्रोतले भन्यो, 'अन्य मन्त्रालय र अर्थकै विभिन्न महाशाखाबाट रायका लागि जाने फाइल नै अहिले त्यहाँबाट अघि नबढ्ने अवस्था छ।'
महालेखा नियन्त्रक पनि अमेरिकामै
स्रोतका अनुसार महालेखा नियन्त्रक सूर्यप्रसाद गौतम, सहमहालेखा नियन्त्रक रमेशप्रसाद शिवाकोटी र उपमहालेखा नियन्त्रक भेष भुर्तेल पनि यही टोलीमा छन्। शिवाकोटी र भुर्तेलले तीन साता लामो बिदा लिएको भए पनि गौतमको भ्रमण स्वीकृति मन्त्रिपरिषदले गरेकाले यति नै दिन भन्ने यकिन नभएको स्रोतले जानकारी दिएको छ।
महालेखा नियन्त्रक कार्यालयमा प्रवेश गरेको तेस्रो दिनमै शिवाकोटीको अमेरिका भ्रमण तय भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।