काठमाडौं- सरकारले गत आर्थिक वर्ष २०७५/०७६ मा सुरुवाती विनियोजनको तुलनामा ७१.९१ प्रतिशत पुँजीगत खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयले प्रकाशन गरेको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ खर्ब ३८ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको छ। गत वर्ष ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको थियो।
अर्थ मन्त्रालयले बजेटको मध्यावधि समीक्षामार्फत पुँजीगत खर्च २ खर्ब ६५ अर्ब रुपैयाँ हुने अनुमान गरेको थियो। त्यसको तुलनामा भने ८९.६० प्रतिशत पुँजीगत खर्च भएको छ। तर महालेखा नियन्त्रकको कार्यालयले पुँजीगत खर्चको संशोधित अनुमान २ खर्ब ७२ अर्ब रुपैयाँ मानेर पुँजीगत खर्च ८७.३८ प्रतिशत भएको उल्लेख गरेको छ।
यसैगरी सरकारले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा ५१ प्रतिशत मात्रै वैदेशिक सहायता प्राप्त गरेको छ। गत आर्थिक वर्षको बजेटमार्फत २ खर्ब ५७ अर्ब रुपैयाँ वैदेशिक ऋण तथा सहायता प्राप्तिको लक्ष्य राखेको भए पनि १ वर्षमा १ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ मात्रै सहायता प्राप्त भएको छ।
एक वर्षको अवधिमा आन्तरिक ऋण ९६ अर्ब ३८ करोड रुपैयाँ संकलन भएको पनि तथ्यांकमा जनाइएको छ। सरकारले गत वर्ष १ खर्ब ७२ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्यसहित बजेट ल्याएको थियो। सरकारले वर्षान्तसम्ममा आन्तरिक र बाह्य गरी २ खर्ब २९ अर्ब रुपैयाँ ऋण लिएको छ।
सरकारले गत आर्थिक वर्षमा १० खर्ब ९४ अर्ब रुपैयाँ कूल खर्च गरेको छ। बजेटमार्फत १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखिएको भए पनि बजेटको मध्यावधि समीक्षामार्फत त्यसलाई घटाएर ११ खर्ब ९९ अर्ब रुपैयाँ कायम गरिएको थियो। सरकारले संशोधित अनुमानको तुलनामा ९१ प्रतिशत खर्च गरेको छ।
राजस्व ९९ प्रतिशत!
संघीय सरकारले गत आर्थिक वर्षमा ९९.९५ प्रतिशत राजस्व संकलन गरेको महालेखा नियन्त्रकको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षमा ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।
अर्थमन्त्री डा युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत राजस्व संकलनको संशोधित अनुमान ८ खर्ब ६० अर्ब रुपैयाँ कायम गरेका थिए।
तर, सुरुवाती अनुमानको तुलनामा गत वर्ष ९० प्रतिशत मात्रै राजस्व संकलन भएको छ। सरकारले सुरुमा ९ खर्ब ४५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्यसहित बजेट ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।