गोंगर (दोलखा)- स्वदेशी लगानीमा निर्धाणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ठाडो सुरुङमा २७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।
आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको हो।
लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारबाट पेनस्टक पाइप जडान सुरु गरिएको थियो। ३ सय ७२ मिटर लामो तल्लो पेनस्टक साफ्टमा अब ५ मिटर लम्बाई र २७ टन तौल भएका अब ७० वटा पाइप जडान गर्न बाँकी छ। माथिल्लो पेनस्टक साफ्टको लम्बाई ३ सय १० मिटर हो।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवं आयोजनाको प्रवर्द्धक अपर तामाकोसी हाइड्रोपावर लिमिटेडका अध्यक्ष कुलमान घिसिङले आइतबार निर्माणस्थलको निरीक्षण गरी पछिल्लो पटक तय गरिएको समय तालिका भित्रै र गुणस्तरमा निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीहरुलाई निर्देशन दिए।
‘जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट ७६ मेगावाट र त्यसपछि बाँकी ५ युनिटबाट आगामी असार भित्रमा विद्युत उत्पादन गरी आयोजनाको निर्माण सम्पन्न गर्नुपर्छ,' उनले निर्देशन दिंदै भने, ‘निर्माण सम्पन्न हुने समय तालिकामा हाम्रो मुख्य चासो हो, त्यसले यसमा गम्भीर बन्नुहोस्, सँगै भएर निर्माण सम्पन्न गरौं, यसले सबैलाई खुसी बनाउँछ। तालिकाअनुसार निर्माण सकेनौं भने सबैलाई तनाव सिर्जना हुन्छ।’
जनशक्ति बढाएर दिनमा तीन सिफ्टमा काम गर्न पनि उनले ठेकेदार कम्पनीहरुलाई निर्देशन दिए।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको गत ९ चैतको निर्देशनअनुसार कार्यकारी निर्देशक घिसिङले हरेक महिना आयोजनास्थलमा पुगी निर्माणमा खटिएका आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिसँग बैठक गर्दै आएका छन्। मन्त्री पुनले पछिल्लो पटक तय गरिएको तालिकाभित्रै निर्माण सम्पन्न गर्न हरेक महिना आयोजनास्थलमै उच्चस्तरीय बैठक राख्न निर्देशन दिएका थिए।
पेनस्टक पाइप आपूर्ति तथा जडानको (लट-२) ठेक्का पाएको भारतीय कम्पनी टेक्सम्याकोले काम गर्न ढिलाई गरेपछि तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा इलेक्ट्रोमेकानिकल (लट-३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई दिइएको छ। माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो। माथिल्लो ठाडो सुरुङमा पाइप जडान भने टेक्सम्याकोले नै गरिरहेको छ।
तल्लो ठाडो सुरुङमा पहिलो पाइप जडान, वेल्डिङ लगायतका काम गर्न ३ सय ६५ घन्टा लागेको थियो। अहिले चौथो पाइप जडान गर्दा समय घटेर १ सय २८ घन्टामा झरेको छ। कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए। ४ वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तिब्रता दिने आयोजनाको विश्वास छ।
माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्सम्याकोका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जिसी अग्रवाललाई आयोजना स्थलबाटै फोन गरी विगतमा जनाइएका प्रतिवद्धता पूरा गर्न आग्रह गरे। ‘टेक्सम्याकोले कुनै पनि समय तालिकाअनुसार काम गरेको छैन, कम्पनीको साइटमा खटिएको व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन गरिएको छैन,' उनले थपे, ‘व्यवस्थापन सुधार गरी जनशक्ति थपेर साइटको क्रियाकलाप बढाउनुहोस्।’

२०७२ को विनाशकारी भूकप्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट-२) ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाई भएको थियो।
यसअघि आयोजनाको निर्माण आर्थिक वर्ष २०७३/७४ भित्र सकेर विद्युत उत्पादनको लक्ष्य राखिएको थियो। भूकम्प लगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि गत आव २०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिका तय गरिएको थियो।
तर, लट-२ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडका सिइओ विज्ञानप्रसाद श्रेष्ठले बताए।
आयोजनाको विद्युत गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।