काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रम समाजवादको जग भएको बताएका छन्। सामाजिक सुरक्षा विश्वव्यापी रुपमा स्वीकार गरिएको मान्यता भन्दै अर्थमन्त्री खतिवडाले संसारका कुनै पनि मुलुक यसबाट पछाडि हट्न नसक्ने जिकिर गरे।
नेपालले समतामूलक विकासको मान्यता अंगिकार गरेको भन्दै खतिवडाले मानव विकासलाई विकासको महत्वपूर्ण आधार मानिएको उल्लेख गरे। 'नेपाल अहिले समाजवादको यात्रामा छ, हामी बजारमैत्री व्यवहारबाट अघि बढ्न खोजिरहेका छौँ,' उनले भने, 'सामाजिक न्यायसहितको विकासको बाटोमा हामी छौँ, यसले समाजमा रहेको असमानता पनि हटाउँदै लैजानेछ।'
बजार स्फुर्त सञ्चालन भइरहेको अवस्थामा उत्पन्न हुने असमानता अन्त्यका लागि पनि सामाजिक सुरक्षा आवश्यक पर्ने अर्थमन्त्री खतिवडाको भनाइ छ। जर्मन सहयोग नियोग जिआइजेड र नेपाल सरकारले आयोजना गरेको इन्टरनेसनल कन्फेरेन्स अन सोसल प्रोटेक्सन कार्यक्रममा अर्थमन्त्री खतिवडाले दीगो विकासका लक्ष्य हासिल गर्न पनि सामाजिक सुरक्षाका कार्यक्रमलाई अघि बढाउनुपर्नेमा जोड दिए।
उत्पादनका साधनको वितरण र सबैलाई श्रम बजारमा उपयुक्त अवसरको खोजी गर्न नसक्ने हो भने त्यसले सामाजिक असमानता बढाउने भन्दै खतिवडाले स्रोतको परिचालन समानताका लागि हुनुपर्ने उल्लेख गरे।
'गरिबी पूर्णरुपमा अन्त्य नभएको अवस्थामा कमजोर व्यक्तिहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनु आवश्यक हुन्छ,' उनले भने, 'त्यसैका लागि हामीले काम गरिरहेका छौँ, सरकारले त्यसतर्फ ध्यान दिइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।