राजविराज- सरकारले श्रावण १ गतेदेखि लागू गरेको भेइकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भिसिटिएस), ढुवानीमा भ्याट र कर्मचारीको तलब व्यक्तिगत प्यानमार्फत भुक्तानी गर्नुपर्ने नयाँ नीतिको विरोधमा शनिबार सप्तरीका व्यापारी/व्यवसायीले प्रदर्शन गरेका छन्।
सप्तरी उद्योग वाणिज्य संघले आह्वान गरेको विरोध प्रदर्शनमा सदरमुकाम राजविराजसहित १८ वटै स्थानीय तहका व्यापारी/व्यवसायी सहभागी थिए। राजविराजस्थित संघको कार्यालयबाट सुरु भएको करिब ५ सय व्यवसायीको जुलुसले बजार परिक्रमा गर्दै सरकारले लागू गरेका अव्यवहारिक कानुन खारेज गर्न माग गरेको छ।
सप्तकोशी नगरपालिकाका व्यापारी हरि खड्काले कामदारमाथि लगाइएको अनिवार्य प्यानको विषय अव्यवहारिक भएको बताए। ‘हामीले प्यान लागू गर्नै हुँदैन पनि भनेका होइना,ैं’ खड्काले भने, ‘अव्यवाहरिक रुपमा लागू गर्न खोजिएकाले विरोध गर्नु परेको हो।’
सरकारले एक हजारभन्दा बढी रकम भुक्तानीमा अनिवार्य प्यान नम्बर उल्लेख गर्नुपर्ने गरी ल्याएको प्रावधान अव्यवहारिक भएको उनको तर्क छ। १५ हजार रुपैयाँभन्दा बढी भुक्तानीमा मात्रै प्यान अनिवार्य गर्न उनले सुझाव दिए।
ढुवानीमा लगाइएको भ्याटमा पनि व्यापारीले आपत्ति जनाएका छन्। स्थानीय ढुवानीकर्तालाई समेत भ्याट लगाउने गरी सरकारले ल्याएको नयाँ नीतिले आपूर्ति प्रभावित हुने र त्यसको असर उपभोक्तालाई नै पर्ने उनीहरूको भनाइ छ। ‘सरकारले खाद्यान्नमा समेत भ्याट लगाएको छ,’ अर्का एक ब्यापारीले भने, ‘सरकारले हरेक कुरामा यसरी एकै पटक पेल्दै जाने हो भने नियम कानुन लागू गराउन पनि गाह्रो हुन्छ।’
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानले नयाँ नीति नियम कार्यान्वयमा ल्याउँदा सरकारले उचित वातावरण बनाएर मात्रै सुरु गर्नुपर्ने बताए। कर्मचारीको तलब भुक्तानीमा प्यान, भिसिटिए र ढुवानीमा भ्याट लगाउने तीन वटै नियम अव्यावहारिक भएकाले तत्काल कार्यान्वयनमा कठिनाइ हुने उनको भनाइ छ।
प्रहरी प्रशासनको चर्को विरोध
जुलुसमा व्यापारीहरूले स्थानीय प्रहरी÷प्रशासनको चर्को विरोध गरेका छन्। प्रहरीले पैसा दिएर खुसी पार्न नसक्ने व्यापारीको गोदाम तथा सवारी साधन नियन्त्रणमा लिएर सामान जफत गर्ने गरेको उनीहरूको गुनासो छ।
जिल्लाभित्र खरिद/बिक्री भएको सामानलाई समेत बिल खोसेर भारतवाट आयात भएको भन्दै सामान जफत गर्ने र भन्सार कार्यालयमा बुझाएर दुःख दिने गरेको व्यापारीले गुनासो गरेका छन्।
‘भन्सार कार्यालयमा बिल बुझाएर सामान फिर्ता ल्याउन सकिन्छ,’ बोदेबरसाइन नगर व्यापार समितिका सचिव अनिल सिंहले भने, ‘तर अनावश्यक दुःख तथा समय र पैसाको बर्बादीले व्यापारी हैरान भएका छन्।’
गत बिहीबार पनि बोदेबरसाइन नगरपालिकामा प्रहरीले सोही प्रवृत्ति दोहोर्याएपछि स्थानीय व्यापारी प्रहरीविरुद्ध आन्दोलनमै रहेको संघका अध्यक्ष प्रधानले बताए।
उक्त घटनामा इलाका प्रहरी कार्यालय बोदेबरसाइनका सइ अमिरी यादव शुक्रबारै जिल्ला तानिएका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले बरसाइनमा गोपाल भट्टराईलाई इन्चार्ज बनाएर पठाएको छ।
प्रहरीले व्यापारीलाई दुःख दिएको विषयमा शनिबारै सप्तरीका सिडिओ सुरेन्द्र पौडेलसँग छलफल गरिने प्रधानले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।