काठमाडौं- सरकारले गत आर्थिक वर्षको अन्तिममा नेपाल विद्युत प्राधिकरणमा साढे ८ अर्ब रुपैयाँ सेयर लगानी गरेको छ। अर्थ मन्त्रालयले रकमान्तर निकासा दिँदै प्राधिकरणमा सेयर बढाएको हो।
अर्थले सार्वजनिक गरेको विवरणअनुसार नेपाल विद्युत प्राधिकरणमा सेयर लगानीका लागि ५ अर्ब रुपैयाँ रकमान्तर निकासा दिएको छ।
यसैगरी, अन्तिम पटकका लागि सडक बत्तीको बक्यौता भुक्तानी प्रयोजनको लागि भन्दै नेपाल विद्युत प्राधिकरणमा सेयर लगानी बढाउन ३ अर्ब ३४ करोड १३ लाख रुपैयाँ रकमान्तर निकासा दिइएको छ।
असारमा मात्रै २२ अर्ब रकमान्तर
अर्थ मन्त्रालयले असारमा मात्रै २२ अर्ब रुपैयाँ रकमान्तर तथा निकासा गरेको छ। चालू तथा पुँजीगत खर्चका लागि मन्त्रालयले २१ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ रकमान्तर निकासा दिएको छ।
सरकारले नेपाली सेनाले माग गरेको जहाज खरिदका लागि १ अर्ब ३९ करोड रुपैयाँ रकमान्तर निकासा दिएको छ। यसैगरी, नेपाल प्रहरीलाई खाद्य संस्थानको जग्गा खरिदका लागि १ अर्ब ३५ करोड रुपैयाँ रकमान्तर निकासा दिएको मन्त्रालयले जनाएको छ। प्रहरीको अपराध महाशाखाका लागि जग्गा खरिद गर्न थप ७६ करोड रुपैयाँ पनि रकमान्तर गरी उपलब्ध गराइएको छ।
कर्मचारीको सञ्चित बिदा तथा औषधोपचारका लागि भुक्तानी गर्न १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।