काठमाडौं- आन्तरिक राजस्व विभागले चार वटा व्यावसायिक क्षेत्रका आयसम्बन्धी विशेष विवरण संकलन गर्न सक्ने गरी आय विवरणसँग सम्बन्धित फाराम तथा तिनका अनुसूचीमा हेरफेर गरेको छ। विभागले मेडिकल कलेज, सिमेन्ट उद्योग, इन्टरनेट सेवा प्रदायक कम्पनी र चिनी उद्योगीबाट उनीहरुको कारोबार तथा आयसँग सम्बन्धित विस्तृत विवरण संकलन हुन सक्ने गरी फारम तथा अनुसूचीमा परिमार्जन गरेको हो।
विभागले यी चार क्षेत्रमा सञ्चालित व्यवसायका आर्थिक कारोबारको सम्पूर्ण विवरण प्रविष्ट गराउनुपर्ने गरी फाराम तथा तिनका अनुसूचीमा परिमार्जन गरेको छ। यो परिमार्जनपछि अब सामान उत्पादन, खपत, स्टोर लगायतका सम्पूर्ण विवरण विभागको प्रणालीमा प्रविष्ट गर्नुपर्नेछ।
गत आर्थिक वर्ष २०७५/७६ को आय विवरण भर्दादेखि नै करदाताले आफ्नो विवरण नयाँ फाराम तथा तिनका अनुसूचीमार्फत मागिएको सूचना उपलब्ध गराउनुपर्छ। विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले करदाताले आय विवरण बुझाउँदा परिमार्जित फाराम तथा तिनको अनुसूचीमा उल्लेखित विवरण पेस गर्नुपर्ने जानकारी दिए।
'आय विवरणसँग सम्बन्धित जानकारी प्रविष्ट गराउँदा उपलब्ध गराउनुपर्ने विवरण थप गरी फाराम तथा अनुसूची बनाइएको छ,' महानिर्देशक नेपालले भने, 'करदाताले आर्थिक वर्ष २०७५/७६ को आय विवरण बुझाउँदा नै त्यसैअनुरुपका तथ्यांक पेस गर्नुपर्छ।'
विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलका अनुसार चार क्षेत्रसँग सम्बन्धित २० वटा र अन्य व्यवसायसँग सम्बन्धित १६ गरी ३६ वटा फाराम तथा तिनका अनुसूचीमा परिमार्जन गरिएको हो।
विभागका अनुसार प्रत्येक करदातालाई छुट्टाछुट्टै 'युजर नेम' र 'पासवर्ड' उपलब्ध गराइएको छ। आफ्नो युजर आइडीबाट करदाताले फाराममार्फत मागिएको सम्पूर्ण विवरण विभागले तयार गरेको प्रणालीमा प्रविष्ट गराउनुपर्छ। यसअघि करदाताले तयार गरेको आय विवरणको प्रमाणित प्रति स्क्यान गरेर प्रणालीमा प्रविष्ट गराउनुपर्नेमा अबदेखि भने तथ्यांक मात्रै प्रविष्ट गर्न सकिने गरी व्यवस्था मिलाइएको छ।
विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेलले चार क्षेत्रसँग सम्बन्धित २० वटा र अन्य व्यवसायसँग सम्बन्धित १६ गरी ३६ वटा फाराम तथा तिनका अनुसूचीमा परिमार्जन गरिएको जानकारी दिए। 'केही विशेष क्षेत्रका विशेष सूचना संकलनमा यसले सहयोग पुर्याउँछ,' उनले भने, 'तथ्यांक संकलनदेखि विश्लेषणसम्मलाई सहज र व्यवस्थित बनाउन नयाँ फाराम तथा तिनका अनुसूचीमा परिमार्जन गरिएको छ।'
नयाँ व्यवस्था अनुसार सिमेन्ट उद्योगले आफ्नो आय विवरण पेस गर्दा चुनढुंगा तथा अन्य कच्चा पदार्थको प्रयोगको परिमाण, कच्चा पदार्थको प्रयोग तथा उत्पादनमा भएको नोक्सानीको विवरण, क्लिंकर उत्पादन तथा बिक्रीको विवरण, सिमेन्ट उत्पादन तथा बिक्रीको विवरण, ऊर्जा उत्पादनमा प्रयोग भएका वस्तु र तिनको खपत, जिप्सन खरानी तथा प्याकिङ सामान खपतको विवरण र सिमेन्ट उत्पादनका लागि कूल ऊर्जा खपतको विवरण बुझाउनुपर्छ।
यसैगरी मेडिकल कलेजले आफ्नो आय, अग्रिम शुल्कको विवरण, विद्यार्थी संख्या र भुक्तानीको विवरण, सेवा शुल्कको विवरण तथा सञ्चालन खर्चको विवरण आय विवरसँगै उल्लेख गर्नुपर्नेछ।
इन्टरनेट सेवा प्रदायकले सेवा शुल्कको वर्गीकरण, इजाजतपत्र र अनुमतिपत्र प्राप्त गरेको विवरण, अनलिमिटेड इन्टरनेट र केबल, लिमिटेड इन्टरनेट, रिलोकेसन शुल्क र सर्भर कोलोकेसन शुल्क आय विवरणसँगै उल्लेख गर्नुपर्छ।
यसैगरी चिनी उद्योगीले चिनी उद्योग र उत्पादनसँग सम्बन्धित विवरण र उखु खरिद तथा खपत र उत्पादनको विवरण आय विवरणसँगै कर कार्यालयमा बुझाउनुपर्छ। चिनी उद्योग र उखु खरिदसँग सम्बन्धित सूचकभित्र तय गरिएका अन्य सूचना पनि पेस गर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।