काठमाडौं- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्षदेखि म्यानपावर कम्पनीहरुको धरौटी वृद्धि योजना कार्यान्वयनमा ल्याउने भएको छ।
धरौटी वृद्धि कार्यान्वयनमा आएसँगै वार्षिक ५ हजारभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने हुन्छ।
यस वर्ष वैदेशिक रोजगारीमा ५ हजारभन्दा बढी कामदार पठाउने एउटा म्यानपावर कम्पनी मात्रै छ। द रिभर ओर्भसिस प्रालिले यस वर्ष ५ हजार २ सय ५८ जना कामदारहरु वैदेशिक रोजगारीमा पठाएको छ।
वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार वैदेशिक रोजगारीमा पठाउने म्यानपावर कम्पनीले १ करोड नगद सहित २ करोड बैंक ग्यारेन्टी गरी ३ करोड धरौटी राख्नुपर्ने उल्लेख गरिएको छ।
३ करोड धरौटी राख्नुपर्ने म्यानपावर २ वटा
सरकारले तोकेको ३ करोड धरौटी राख्नुपर्ने म्यानपावर कम्पनी दुई वटा मात्रै छन्। एसओएस म्यानपावर सर्भिस प्रालिले ४ हजार २ सय ८१ कामदार वैदेशिक रोजगारीमा पठाएको छ भने पाराडाइज इन्टरनेशनल प्रालिले ३ हजार ३ सय २७ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ।
५ सय १६ वटा म्यानपावर कम्पनीहरुले १ सयभन्दा बढी ३ हजारभन्दा कम कामदार पठाएको विभागको तथ्यांकमा उल्लेख छ।
५ सय ६२ खारेजीको जोखिममा
सरकारले वार्षिक १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनीलाई खारेजी गर्ने नीति अघि सारेको छ।
चालु आर्थिक वर्षभित्रमा १ सयभन्दा कम कामदार पठाउने म्यानपावर स्वतः खारेज हुने सरकारले नीति अघि सारेको छ।
सो नीति अनुसार १ सयभन्दा कम कामदार पठाउने ५ सय ६२ वटा म्यानपावर कम्पनी खारेजीको जोखिममा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।