फाइल तस्बिर
काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले विदेशबाट धुलो दूध आयात नखोलिने बताएका छन्।
दुग्ध विकास संस्थान (डिडिसी)को स्वर्ण महोत्सव तथा ५१औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री खनालले विदेशबाट झोल दूध आयात गरेपनि धुलो दूध आयात खुला नगर्ने जनाएका हुन्।
मुलुक भित्रकै दुग्ध क्षेत्र प्रतिस्पर्धी र गुणस्तरीय हुनुपर्ने भन्दै आफूले धुलो दूध आयातमा प्रतिबन्ध लगाएको बताएका मन्त्री खनालले त्यसका लागि डिडिसीले भूमिका खेल्नुपर्ने बताए।
‘डिडिसीलाइ अझै राम्रो बनाउन सकिन्छ। दूधको क्षेत्रमा ५० वर्षको अनुभव थोरै होइन। अझै पनि यहाँ कमजोरी छन्। तर त्यसो भन्दैमा मुलुकभित्रकै उत्पादनलाई अपेक्षा गर्नुभएन। जे पर्छ म व्यहोर्छु, भनेरै पाउडर दूध रोकेको हो। झोल दूध आयात गरिन्छ तर धुलो दूध आयात खोलिन्न,’ मन्त्री खनालले भने।
धुलो दूध आयात रोक्दा उद्योगी व्यापारीले आफूलाई समस्या परेको भन्दै गुनासो गरेपनि आफूले उपभोक्ताको हित ध्यानमा राखी उक्त निर्णय गरेको उनको भनाई छ।
‘उद्योग, व्यापारी, उपभोक्ता कसैलाई पनि मारमा परिन्न तर उपभोक्तालाई धोका दिन पनि सकिन्न,’मन्त्री खनालले भने।
दुग्ध विकास संस्थानले आर्थिक वर्ष २०७५/७६ को पहिलो ९ महिना अवधिमा ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको जनाएको छ।
संस्थानले गत चैत मसान्तसम्ममा ४ अर्ब ६ करोड ६० लाख ६१ हजार रुपैयाँ कुल नाफा गरेकोमा कुल खर्च ४ अर्ब ६८ लाख ८६ हजार रुपैयाँ बराबर कुल खर्च गरेको छ।
यसरी करअघिको नाफा ५ करोड ९१ लाख ९४ हजार र कर चुक्ता गरेपछि बाँकी ४ करोड ८५ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।