भैरहवा- गत आर्थिक वर्ष २०७५/७६ मा रुपन्देहीमा ८३.०७ प्रतिशत मात्र विकास बजेट खर्च भएको छ। जिल्लामा पूँजीगततर्फ ७ अर्ब ६२ करोड २६ लाख २७ हजार बजेट निकासा भएको थियो। पुँजीगततर्फ जम्मा ६ अर्ब ३३ करोड १७ लाख ९९ हजार अर्थात् ८३.०७ प्रतिशत खर्च भएको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख चन्द्रप्रसाद भुसालले दिए। जिल्लामा आर्थिक वर्षको असारमा मात्रै २ अर्ब ४६ करोड ९३ लाख ८३ हजार २३६.२९ रुपैयाँ खर्च भएको छ। यो पूँजीगत तर्फको कुल बजेटको ३२.३९ प्रतिशत हो।
गत आर्थिक वर्षका ११ महिना पूँजीगत खर्चमा खासै तदारुकता नदेखाउने विकासे कार्यालय र ठेकेदारले अन्तिम समयमा आएर हतारहतारमा काम गर्ने र भुत्तानी लिने परिपाटीका कारण असारमा विकास खर्च बढ्ने गरेको हो।
यस्तै, जिल्लामा चालुतर्फ असार १ अर्ब ८१ करोड ४८ लाख ६४ हजार अर्थात् ६.१३ प्रतिशत खर्च भएको छैन। चालुतर्फ आवमा २९ अर्ब ५९ करोड ४७ लाख ५९ हजार बजेट छुट्याइएको थियो। आवमा चालुतर्फ २८ अर्ब ४ करोड ४८ लाख अर्थात् ९४.७५ प्रतिशत खर्च भएको छ। चालुको खर्च राम्रो भएपनि पूँजीगत खर्च भने अघिल्लो आवको भन्दा थोरै हो। अघिल्लो आव ०७४/०७५ मा जिल्लामा पूँजीगत तर्फ ८६.६३ अर्थात् ६ अर्ब ९५ करोड २१ लाख खर्च भएको थियो भने चालुतर्फ ९१.७० प्रतिशत अर्थात् १२ अर्ब ९९ करोड ८४ लाख खर्च भएको थियो। जिल्लामा आव ०७५/०७६ मा जिल्लामा चालु र पूँजीगत गरी ३७ अर्ब २१ करोड ७३ लाख ८६ हजार बजेट छुट्याइएको थियो। जिल्लामा विगतभन्दा खर्च गर्ने परिपाटी भने बढेको छ।
कार्यालयका अनुसार जिल्लाका १६ स्थानीय तहको खर्च शतप्रतिशत भएको छ। यस्तै यहाँ संचालित ठूला आयोजनाले पनि विगतको भन्दा विकास खर्च धेरै गरेका छन्। बुटवल सभाहल, सिंचाई आयोजना, डिभिजन खानेपानी, व्यापारिक मार्ग, डिभिजन सडक कार्यालयको, संघीय खानेपानी लगायतको बजेट खर्च विगतको भन्दा राम्रो देखिएको कोलनिकाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।