काठमाडौं- २०७५ साल मंसिर ११ गते शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आज (बुधबार) देखि औपचारिकरुपमा कार्यान्वयनमा आउने भएको छ। यसबाट नेपालको संविधानको धारा ३४ को उपधारा (२) अनुसार सामाजिक सुरक्षा पाउने मौलिक हकलाई सुनिश्चित गर्न महत्वपूर्ण आधार तय भएको छ।
सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधि, उपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना सहित ४ वटा योजना सञ्चालन गर्नेछ।
योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरेपश्चात् मात्र कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न सकिनेछ। दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदान रकम प्राप्त भएकै मितिबाट र अन्य योजनाहरु सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा तोकिए बमोजिमको अवधि पूरा भएपछि मात्र लागू हुनेछन्।
सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानुनी एवं प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजनालाई थप आकर्षक बनाउने उद्देश्यले निजी क्षेत्र, रोजगारदाता र श्रमिकबाट विभिन्न समयमा प्राप्त सुझाव समेतको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ परिमार्जन समेत गरिएको छ।
यसबाट सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता हुने विश्वास लिइएको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।