जनकपुरधाम- केही दिनयताको अविरल वर्षा र बाढी प्रभावित परिवारको राहतका लागि प्रदेश २ का मुख्यमन्त्रीदेखि राज्यमन्त्रीसम्मले एक महिनाको तलब दिने भएका छन्।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राहत, उद्धार तथा पुनर्स्थापना तीव्र बनाउने निर्णय गर्दै एक महिना बराबरको तलब राहत कार्यमा लगाउने निर्णय गरेको हो। यसका साथै मन्त्री परिषदले साउन १ गतेदेखि प्रदेशका सबै मन्त्री, राज्यमन्त्री र प्रदेशसभा सदस्यलाई आ–आफ्नो क्षेत्रमा गई राहत कार्यमा जुट्न आग्रह गरेको छ।
बाढी प्रभावित परिवारलाई राहत कार्यमा कमी हुन नदिन प्रदेशका प्रमुख सचिव दीपक सुवेदीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरी राहत आपूर्ति तथा अनुगमन समिति समेत गठन गरेको छ। उक्त समितिले राहतका लागि आवश्यक सामग्रीको आपूर्तिसहित अनुगमन र निरीक्षण समेत गर्ने छन्।
प्रदेश सरकारले यसअघि राहत वितरणका लागि प्रत्येक जिल्लालाई पठाएको १० लाख रकमको अनुगमन समेत सोही समितिले गर्ने छन्।
प्रदेश सरकारले यसअघि नै बाढी बाट मृत्यु हुनेको परिवार लाई ३ लाख राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।