धनुषामा पानीमा डुवेको गाईलाई सुरक्षित स्थानतर्फ लैजाँदै महिला।
जनकपुरधाम- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सिरहा र धनुषाका बाढी, पहिरो तथा डुवान क्षेत्रको अवलोकन गरेका छन्। उनले उक्त विपत्तिबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल बाढीपीडितको उद्धार र राहतमा केन्द्रित हुन सम्बन्धित जिल्लाका कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिएका छन्।
बाढीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्न सिरहा आएका मन्त्री यादवले सिरहाको चोहर्वामा जिल्लास्थित कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुखहरुसँगको छलफलका क्रममा यस्तो निर्देशन दिएका हुन्।
बाढी प्रभावित क्षेत्रका जनता सङ्कटमा रहेकाले तत्काल उद्धार र राहत वितरण गर्नेतर्फ सबै संयन्त्र परिचालन गर्नुपर्ने भन्दै बाढीपीडितको नाममा हुने राहत वितरणको कार्यलाई निष्पक्ष र प्रभावकारी बनाउन मन्त्री यादवले निर्देशन दिए।
धेरै वस्ती अझै डुवानमा रहेकोले महामारी फैलिन नदिन बाढी प्रभावित क्षेत्रमा चिकित्सकसहितको टोली परिचालन गर्न निर्देशन दिए। बाढीपीडित जनतालाई उद्धार र राहतका लागि तीनै तहको सरकारले समन्वय गरी अघि बढ्नुपर्नेमा उनको जोड थियो। यसअघि मन्त्री यादवले बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए।
छलफलमा सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी, सिरहाका विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो।
प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो
मन्त्री यादवले बाढी प्रभावित क्षेत्रमा सर्वदलीय राहतको खाँचो रहेको औँल्याए। धनुषा र सिरहा जिल्लाका बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।
दुवै जिल्लाका लागि उपलब्ध सामग्री र जनशक्तिले भइरहेको राहत र उद्धार कार्य प्रशंसनीय भए पनि डुवानका क्षेत्रमा उच्च प्राविधिक जनशक्तिको आवश्यकता रहेको मन्त्री यादवले जनाए।
कमला नदीको बाँधमा कटान हुनसक्नेतर्फ इङ्गित गर्दै मन्त्री यादवले सम्भावित जोखिमलाई दृष्टिगत गरी उच्च प्राविधिकद्वारा बाँध मर्मत तथा संरक्षण तत्काल गर्नु आवश्यक भएकामा जोड दिए।
.jpg)
प्राकृतिक विपद्मा राजनीति नगरी वास्तविक पीडितलाई राहत उपलब्ध गराउनु जरुरी भएको बताउँदै उनले राहतका लागि मात्र सरकारमाथि नै आश्रित हुने आकांक्षा त्यागेर आ–आफ्ना सामर्थ्य पनि प्रयोग गर्न आवश्यक रहेको बताए।
मन्त्री यादवले सरकारले बाढीबाट पीडितलाई उद्धार गर्न गोताखोरलाई विशेष सुविधा दिने घोषणा गरिसकेको र यस विपत्तिमा गोताखोरको सङ्ख्या बढाउनु जरुरी भएको जानकारी दिए।
सिरहामा चारको मृत्यु, एक बेपत्ता
केही दिनयताको अविरल वर्षा र बाढीका कारण सिरहामा हालसम्म २ बालिकासहित ४ जनाको मृत्यु भएको छ भने एक जना डुबेर बेपत्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालय सिरहाले दिएको जानकारीअनुसार अविरल वर्षाको पानी जमेको खाल्डोमा डुबेर असार २९ गते सिरहाको मिर्चैया नगरपालिका–४ मा स्थानीय सन्तोष साहकी ५ वर्षीया छोरी प्रियंका साह र बद्री महतोकी ११ वर्षीया छोरी रागिनीकुमारी महतोको मृत्यु भएको छ।
मृत्यु भएका दुई बालिकाका परिवारलाई मिर्चैया नगरपालिकाले किरिया खर्चबापत आर्थिक सहयोग गरेको छ। मृतक दुवै बालिकाका परिवारलाई नगर प्रमुख श्रवण यादवले २० हजार रुपैयाँका दरले किरिया खर्च प्रदान गरेका थिए।
यस्तै, सिरहाको नरहा गाउँपालिका–३, चन्द्रगाढास्थित सुमो एजुकेसन एकेडेमी बोडिङ स्कुलमा सुरक्षा गार्डको रुपमा काम गर्दै आएका उदयपुरको बेलस्रोत निवासी ६५ वर्षीय सोभितबहादुर कटुवालको खाल्टोमा डुबेर मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
त्यस्तै, सिरहा नगरपालिका–१७ पटेर्वास्थित कमला नदीको बाँध नजिकै पानीमा बालुवाले पुरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ। नाम, थर र वतन नखुलेको अन्दाजी ३० वर्षीया महिलाको शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सिरहा नगरपालिका–१५, सुखचैनामा आएको बाढीमा डुबेर भारत विहार देवरीया घर भई फुपाजु नरेश साहको घरमा आएका १५ वर्षीय बली साह बेपत्ता भएको प्रहरीले जनाएको छ। उनको खोजी भइरहेको छ।
कमला नदीको बाढीमा डुबेर बेपत्ता भएका सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्राहा निवासी ५५ वर्षीय कामेश्वर यादवको भारत जयनगरको कोरियाही भन्ने स्थानबाट सकुशल उद्धार गरिएको छ। कमला नदीमा डुङ्गा चलाउँदै आएका यादव यही असार २८ गते बाढीमा डुबेर बेपत्ता भएका थिए।
यस्तै, अविरल वर्षाका कारण सिरहाको विभिन्न स्थानमा ३ सय ५४ घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने २ हजार ५ सय ३८ वटा घरमा आंशिकरुपमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। (रासस/फाइल तस्बिर-अजय शाह)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।