डडेल्धुरा- बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्या प्रकरणमा जिल्ला अदालत कञ्चनपुरले सोमबार पत्रकार खेम भण्डारीलाई एक घन्टा जेल र एक रुपैयाँ जरिवाना फैसला सुनाएको छ। जिल्ला बार इकाइ र उच्च अदालत बार इकाइका पदाधिकारीहरुले दायर गरेको मुद्दामा जिल्ला न्यायाधीश डा राजेन्द्र आचार्यको एकल इजलासले यस्तो फैसला सुनाएको अदालतका श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए।
अदालतले पत्रकार भण्डारीलाई सुनाएको यो सजाय तत्कालका लागि भने स्थगन गरेको छ। त्यसका लागि अदालतले केही सर्त राखेको छ। जसमा पत्रकार भण्डारीले फेसबुकमा लेखेको स्टाटस हटाउनुपर्ने र आत्मालोचनासहित माफी माग्नुपर्ने उल्लेख छ। पत्रकार भण्डारीले तीन दिनभित्र यी सर्त पूरा नगरेको खण्डमा एक घन्टा जेलमा बसेर र एक रुपैयाँ जरिवाना तिर्नुपर्नेछ।
उक्त आदेश तीन दिनको लागि स्थगत गरिएको अदालतका श्रेस्तेदार अवस्थीले जानकारी दिए। ‘पत्रकार भण्डारीले आफ्नो कसुर स्वीकार गरे। अदालतले सजायको फैसला तीन दिनको लागि स्थगित गरेको छ,' श्रेस्तेदार अवस्थीले भने।
अब पत्रकार भण्डारीले तीन दिनभित्र अदालतसमक्ष मागेको माफीसहित आत्मआलोचना पत्रिका छाप्नुपर्नेछ। साथै उनले तीन दिनभित्र मानहानी हुने गरी फेसबुकमा पोस्ट गरेका स्टाटस डिलिट गर्नुपर्नेछ। यो नगरेको खण्डमा पत्रकार भण्डारीलाई ‘तुच्छ सजाय’ अन्तर्गत एक घन्टा जेल सजाय र एक रुपैयाँ जरिवाना हुने श्रेस्तेदार अवस्थीले बताए।
उनीमाथि अदालतले गरेको यो फैसला संसारकै लागि नौलो भएको अधिवक्ताको भनाइ छ। उनीहरुले यो सानो सजाय भए पनि इतिहासका लागि स्मरणीय हुने दाबी गरेका छन्।
अदालतमा विचाराधीन मुद्दामा सञ्चारमाध्यमले कसरी प्रस्तुत हुने भन्ने पनि यो फैसलाले पाठ सिकाउने अधिवक्ताहरुको भनाइ छ।
नाम नबताउने सर्तमा एक अधिवक्ताले भने, ‘यो सानो सजाय भए पनि इतिहासकै एक नमुना सजाय हो। एक वर्षको जेल सजाय गरे पनि एक घन्टा सजाय गरे पनि कसुर ठहर गरेको मानिन्छ।’
पत्रकार भण्डारीविरुद्ध अदालतको अपहेलना गरेको, भ्रामक समाचार सम्प्रेषण गरेको, सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने खालको स्टाटस पोस्ट गरेको भन्दै मुद्दा परेको थियो। उनीविरुद्ध निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदी अनिता बमले मानहानि मुद्दा दायर गरेकी थिइन्। अधिवक्ता विनोद भट्ट र जिल्ला अदालत कञ्चनपुरमा तत्कालीन प्रहरी प्रमुख पूर्व एसपी दिल्लीराज विष्टका छोरा किरणले पनि मुद्दा हालेका थिए।
बरू फाँसी भोग्छु, माफी माग्दिन : पत्रकार भण्डारी
पत्रकार खेम भण्डारीले भने यो प्रकरणमा माफी नमाग्ने बताएका छन। सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले जिल्ला अदालतको निर्णय अन्यायी भएको बताएका छन्।
'मैले मेरो पुनरावेदन गर्न पाउने अधिकार प्रयोग गर्नैपर्ने बाध्यत्मक अवस्था आयो,' उनले लेखेका छन्, 'बरू फाँसी भोग्छु, यस प्रकरणमा माफी माग्ने कुनै सम्भावना छैन। जिन्दगी मेटाउन सक्छु तर मैले एक पटक अपलोड गरेको स्टाटस न कहिल्यै मेटेँ, न मेट्नेछु।'

कञ्चनपुरको भीमदत्त नगरपालिका बस्ने १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको साउन १० गते एक वर्ष पुग्दैछ। यसबीचमा नुसन्धाका क्रममा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुखदेखि जवान तथा अनुसन्धानका डिएसपीसम्म निलम्बनमा परेका छन्। उच्चस्तरीय छानबिन समितिसमेत गठन भएको यो हत्या प्रकरणको दोषी अझै पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।