राजविराज- गत बिहीबारदेखि ४ दिनसम्म भएको वर्षापछिको बाढी तथा डुवानका कारण विस्थापित भएका सप्तरीको सप्तकोशी नगरपालिका-२ का बाढीपीडितको विचल्ली भएको छ।
त्रियुगा नदीको बाढीले गाउँनै डुवाएपछि उदयपुरको बेलका नगरपालिका-१, भालमन्तीस्थित बुलबुले भमरा सामुदायिक वन उपभोक्ता समूहको भवनमा आश्रय लिएर बसेका ४८ परिवारले भरि पेट खान समेत पाएका छैनन्। त्रियुगा नदी वस्तीको बीच भागबाट बगेका कारण सामान्य अवस्थामा समेत उनीहरुको गाउँ पुग्न उदयपुरकै बाटो भएर जानुपर्ने अवस्था छ।
.jpg)
बाढीका कारण सप्तरीतर्फ जान नसक्ने अवस्था भएपछि सामुदायिक भवनको ३ वटा कोठा तथा पेटीमा बालबच्चासहित कोचिएर बस्नु परेको मोहम्मद उसमान मियाले बताए।
सामुदायिक भवनको आश्रयस्थलमा ५० बालबच्चासहित २ सय ३१ जना कष्टकर जीवनयापन गरिरहेका छन्। बाढीपीडितलाई दैनिक पेट पाल्नलाई समेत समस्या भइरहेको उसमानले जानकारी दिए। ‘तीन दिनदेखि चिउरा र मुरही (भुजा)को भरमा बालबच्चाको ज्यान जोगाएका छौं,’ उनले भने, ‘अव त मुख पाछेर खान पनि नसक्ने अवस्था आयो।’
.jpg)
वडा सदस्य मोहम्मद जाहिर हुसेनमार्फत नगरपालिका कार्यालयले पठाएको एक केजी चामल पनि पकाएर खान नसकेको ४५ वर्षीया पर्मिलादेवी रामले बताइन्। ‘पानीले भिजेर दाउरा बाल्न सकिँदैन, दाउरा बले पकाउने भाँडाकुँडा छैन,’ वन कार्यालय पुग्दा चिउरा चपाउँदै गरेकी उनले भनिन्, ‘बाढीपीडितका लागि ग्यास कहाँबाट ल्याउनु भन्छन्। हामी त भोकैले मर्ने अवस्था आयो।’
भालमन्तीका स्थानीयवासीले डुबेको गाउँबाट उनीहरुको उद्धार गरी सामुदायिक वनको भवनमा राखिदिएपछि आफ्नो नगरपालिकाका जिम्मेवार व्यक्ति हेर्न पनि नआएको रेस्मादेवी रामले दुखेसो गरिन्। ‘समस्यामा पर्दा काम लाग्लान् भनेर चुनावमा भोट हालेर जितायौं, यस्तो अवस्थामा सहयोग गर्नु त कता हो कता सोध्न पनि कोही आएनन्,’ उनले थपिन्, ‘ठूला मान्छे त १/२ छाक नखाएरै पनि बाँचौला, बालबच्चा बचाउन नसकिने भो।’
खानेपानी, त्रिपाल, झुललगायतका कुनै पनि सुविधा नपाउँदा बाढीपीडितले कष्ट भोग्नु परेको अर्का पीडित सुखडी रामको भनाइ छ। ‘हामी अहिले जुन अवस्थामा बस्नु परेको छ, त्यसरी त बाख्रा पनि राखिँदैन,’ शीर निहुराउँदै रामले भने, ‘हाम्रो जस्तो समस्या त कसैलाई पनि नपरोस्।’
.jpg)
मन्दिरमा भगवानको फोटोको सुरक्षा, वन कार्यालयको पेटीमा बाढीपीडितको विचल्ली
बाढी पीडितलाई राखिएको सामुदायिक वनको भवन नजिकै ‘ओमशान्तिको बाबा घर’ ताला लगाएर राखिएको छ। तर, बाढीपीडितका लागि २/४ दिनका लागि बास दिन आग्रह गर्दासमेत नदिइएको उनीहरुले गुनासो गरे।
भगवानको फोटोको सुरक्षा गर्ने स्थानीयवासीले बाढीपीडितलाई मान्छेको व्यवहारसमेत नगरेको उनीहरुको गुनासो छ। आडैको वन कार्यालयको ३ कोठे भवन र पेटीमा कोच्चिएर पीडितहरुले जीवन निर्वाह गरिरहेका छन्। उनीहरु भूइँमा पराल बिच्छ्याएर बसिरहेका छन्।
.jpg)
स्थानीय युवा मदन न्यौपानेले पनि मन्दिर र यसको सत्तलमा बाढीपीडितलाई राख्न नसकिने बताए। ‘उनीहरुलाई हामीले नै उद्दार गरेर यहाँ राखेका हौं,’ उनले भने, ‘बस्ने व्यवस्था पनि मिलाएका छौं, भगवानको घरमा चाहिँ राख्न मिल्दैन।’
आश्रय स्थलमा आधा दर्जन गर्भवती र ५० जना बालबच्चा, अधिकांश बिरामी
आश्रय स्थलमा आधा दर्जनभन्दा बढी गर्भवती र ५० बालबालिका छन्। अधिकांशमा पेट दुख्ने, पखला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने समस्या देखिएको छ। शुद्द खानेपानी नपाएर पनि धेरैलाई रुघाखोकी र पखालाको समस्या देखिएको उसमान बताउँछन्।
.jpg)
.jpg)
जताततै बाढी र हिलोले कसैलाई उपचारसमेत गराउन नपाएको उनले बाध्यता सुनाए। ‘उपचार गराउन कतै निस्कन सक्ने अवस्था छैन,’ उनले थपे, ‘निस्किहाले पनि उपचार गराउनलाई पैसा छैन।’
जनप्रतिनिधि बेखबर
उदयपुरतर्फ बसेका बाढीपीडितको विषयमा सप्तकोशी नगरपालिकाका जनप्रतिनिधि पनि अनभिज्ञ छन्। बाढीपीडित कुन अवस्थामा बसेका छन् भन्ने विषयमा आफूलाई पनि जानकारी नभएको सप्तकोशी-२ का वडाअध्यक्ष सोनालाल चौधरीले बताए।
‘२० थान त्रिपाल र अन्य आवश्यक सामग्री दिएर थप व्यवस्था मिलाउन हामीले वडा सदस्यलाई जिम्मेवारी दिएका थियौं, म चाहिँ बिरामी भएर पुग्न सकेको छैन,’ उनले थपे, ‘त्यहाँ के अवस्था छ भन्नेबारे पनि मलाई जानकारी गराइएको छैन।’
नगरपालिकालाई सभाको चटारो
बाढीपीडितलाई खान, बस्न र जीविका चलाउनसमेत समस्या भइरहेका बेला जनप्रतिनिधिलाई भने नगरसभाको चटारोले छोपेको छ। बाढीपीडितको राहत र उद्धारमा खटिनुपर्ने समयमा उनीहरु नगरसभाको तयारीमा जुटेका छन्।
.jpg)
सप्तकोशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव रेग्मीले बाढीपीडितका लागि राहत वितरण गर्दागर्दै कतिपय स्थानमा समस्या देखिएको सुनाए। जनप्रतिनिधि भएका ठाउँमा कर्मचारीले धेरै अगाडि बढेर काम गर्नु पनि अनुपयुक्त हुने भएकाले समस्या समाधानका लागि आफूले प्रयास गर्ने उनको भनाइ छ।
'असार १० भित्र नगरसभा गरी बजेट ल्याउनुपर्ने भए पनि त्यति बेला नगरेको काम बाढीकै बेलामा किन हतारो?' भन्ने जिज्ञासामा भने उनले अगाडि तयारी नपुगेको र असारभित्रै सभा गर्नुपर्ने बाध्यताले तयारीमा लागिएको प्रतिक्रिया दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।