काठमाडौं- भारतीय कम्पनी मद्रास सेक्युरिटिजले यातायात व्यवस्था विभागसँग गरेको सम्झौता बमोजिम छपाई मेसिन र स्मार्ट लाइसेन्स उपलब्ध नगराएपछि स्मार्ट लाइसेन्स छपाईमा फेरि समस्या देखिने भएको छ।
मद्रास सेक्युरिटिज कम्पनीले ग्लोबल टेन्डरमार्फत् स्मार्ट लाइसेन्स छपाईको जिम्मा पाएको थियो। जुलाई १४ अर्थात् आइतबाट छपाईको काम सुरु गरिसक्नुपर्ने भएपनि कम्पनी भने विभागको सम्पर्कमा आएको छैन।
यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालका अनुसार विभागले गत अप्रिल ३० मा मद्रास सेक्युरिटिजसँग छपाई मेसिन तथा स्मार्ट लाइसेन्स आपूर्ति र स्थापनासम्बन्धी सम्झौता गरेको थियो।
कम्पनीले उक्त मितिबाट ७५ दिनभित्र प्रिन्टर आपूर्ति तथा स्थापना गरिसक्नुपर्ने सम्झौता भएपनि मद्रास सेक्युरिटिजले सम्झौताअनुसार मेसिन जडान र छपाईको काममा चासो देखाएको छैन।
‘हामीले गत मे ३१ मा विभागबाट स्मार्ट लाइसेन्स छपाईको सम्पूर्ण काम गर्ने ‘आर्टवर्क एप्रुभल’पनि आपूर्तिकर्ता कम्पनीलाई उपलब्ध गराइसकेका छौं। उक्त मितिले ६० दिनभित्र ४ लाख स्मार्ट लाइसेन्स र १ सय ५० दिनभित्र बाँकी ६ लाख स्मार्ट लाइसेन्स गरी कुल १० लाख स्मार्ट लाइसेन्स छपाई गरिसक्नुपर्ने गरी मद्रास सेक्युरिटिजसँग सम्झौता भएको थियो। तर उसले नयाँ छपाई मेसीन र स्मार्ट लाइसेन्स विभागमा ल्याइसकेको छैन। सम्झौताअनुसारको समयसीमा पनि आज सकिएको छ,’ महानिर्देशक दहालले भने।
मद्रास सेक्युरिटी प्रिन्टर्ससँग यातायात व्यवस्था विभागले एक थान स्मार्ट लाइसेन्स छाप्ने मेसिन र १० लाख स्मार्ट लाइसेन्स उपलब्ध गराउन सम्झौता भएको थियो। तर उक्त कम्पनीले म्याद गुज्रिँदा पनि सुरु गरेको छैन।
अहिले दैनिक करिब ५ हजारको संख्यामा लिखित तथा प्रयोगात्मक परीक्षा पास गरेका सेवाग्राही स्मार्ट लाइसेन्सका लागि विभागको केन्द्रीय प्रणालीमा दर्ता हुने गरेका छन्। तर, विभागले भने दैनिक २ हजार लाइसेन्स प्रिन्ट गर्दै आएको छ। हाल विभागसँग ५० हजार लाइसेन्स मात्रै बाँकी रहेको छ। मद्रास सेक्युरिटिजले तत्काल नयाँ लाइसेन्स उपलब्ध नगराए अबको दुई–तीन हप्ताभित्रमा सबै लाइसेन्स सकिने विभागले जनाएको छ।
मालिका इन्कर्पोरेटका कारण २५ हजार बढी स्मार्ट लाइसेन्स बिग्रिए
स्मार्ट लाईसेन्स छपाईका लागि ग्लोबल टेन्डर आह्वान गरिसकेकै अवस्थामा गत मंसिरमा विभागले सोही कामको जिम्मा अर्को नीजि कम्पनी मालिका इन्कर्पोरेट लिमिटेडलाई दिएको थियो।
प्रधानमन्त्रीको ठाडो आदेशबाट भित्राईएको उक्त कम्पनीका कारण २५ हजार भन्दा बढी स्मार्ट लाइसेन्स बिग्रिएका छन्। एउटा प्रविधिको लाइसेन्सलाई उक्त कम्पनीले अर्कै प्रविधिबाट छापेपछि त्यस्ता लाइसेन्सहरु बिग्रिएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।