काठमाडौं- नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
वस्तु विनिमय बजार संचालनमा ल्याउने विषयलाई बोर्डले नीति तथा कार्यक्रममा प्रमुखताका साथ समेटेको छ। ‘मुलुकको अर्थतन्त्रको आकार, औद्योगिक व्यवसायको विकास, वस्तु कारोबारको सम्भावना साथै लगानीकर्ताको हक/हितलाई ध्यानमा राखी दुई वटा वस्तु विनिमय बजार संचालन अनुमति दिने नीतिगत व्यवस्था अनुसार निर्धारित मापदण्ड अनुसार वस्तु विनियम बजारलाई सञ्चालन अनुमति दिई कारोबार सुरु गरिनेछ,’ सोमबार बोर्डले जारी गरेको नीति तथा कार्यक्रममा उल्लेख छ।
नयाँ नीति तथा कार्यक्रमअनुसार अब हकप्रद सेयर दाबी गर्दा शेयरधनीले आफ्नो हकभन्दा बढी दाबी गर्न पाउने गरी बोर्डले नयाँ व्यवस्था गर्न लागेको छ। बोर्डले हकप्रद सेयर निष्काशनमा हाल लगानीकर्ताले आफ्नो हकसम्मको मात्र आवेदन दिने व्यवस्था रहेकोमा आगामी लिनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढी आवेदन दिन सक्ने व्यवस्था गरी कार्यान्वयनमा ल्याउने जनाएको छ।
धितोपत्रको दोश्रो बजारमा सूचना प्रवाह थप व्यवस्थित तथा प्रभावकारी बनाउन डिस्क्लोजर अर्थात् बल्क कारोबारको व्यवस्था मिलाउने पनि आफ्नो कार्ययोजनामा राखेको छ।
केन्द्रीय निक्षेप कम्पनीमा अभौतिक रुपमा रहेका निश्चित सीमासम्मको सेयरको बीमा गर्नका लागि सहजीकरण गर्ने नीति पनि बोर्डले लिएको छ।
सरकारले कर छुटमार्फत उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गर्ने नीति लिएअनुसार बोर्डले पनि सहुलियत दरमा ऋण प्रवाह गरी सहयोग र प्रोत्साहन गर्ने जनाएको छ।
५० करोड वा सोभन्दा माथिका वा एक अर्ब वा सो भन्दा माथिको पूँजीमा स्थापित उत्पादनमुलक कम्पनीलाई धितोपत्र बजारमा भित्राउन प्रोत्साहन र सहजीकरण गर्ने पनि बोर्डको नीति तथा कार्यक्रममा छ।
उत्कृष्ट गे्रडिङ पाएका सूचीकृत कम्पनीहरुलाई मुद्र्रा बजारमार्फत ऋण प्रवाहमा सहुलियत प्रदान गर्न बोर्डले भूमिका खेल्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।