जनकपुर- अविरल वर्षापछि आएको बाढीले प्रदेश २ मा मत्स्यपालन व्यवसायमा ठूलो क्षति पुगेको छ। माछापालन सम्वद्ध किसान तथा सरोकारवालाहरुले बाढी तथा डुवानका कारण प्रदेश २ का माछापालन किसान मारमा परेको गुनासो गरे।
ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)द्वारा आइतबार जनकपुरधाममा आयोजित मत्स्यपालनसम्बन्धी गोष्ठीमा विज्ञहरुले प्रदेश २ का मत्स्यपालन व्यवसायमा संलग्नहरुको ६० प्रतिशत भन्दा बढी क्षति भएको जानकारी दिए।
कहाँ कति क्षति?
प्रदेश २ लाई माछापालनको 'हब’ नै मानिन्छ। नेपालमा उत्पादन हुने ७० प्रतिशत माछा प्रदेश २ मा नै उत्पादन हुने गर्दछ। तर, अहिलेको बाढीका मत्स्यपालन उत्पादनमा अर्बौंको क्षति पुगेको छ। प्रदेशभर ११ हजार भन्दा बढी माछा पोखरी बाढीले प्रभावित भएको बताइएको छ।
प्रदेश २ मा कूल १५ हजार ६ सय ६७ पोखरीहरुमा व्यवसायिक रुपमा माछापालन गरिँदै आएको छ। बारामा सबैभन्दा बढी ४ हजार १ सय ३६ पोखरीमा माछा उत्पादन हुन्छ। जसमा २ हजार ४ सय ८१ पोखरी प्रभावित भएका छन्। बारामा ४ हजार मेट्रिकटन माछा वार्षिक रुपमा उत्पादन हुँदै आएको छ।

त्यस्तै, सप्तरीमा २ हजार ६ सय ८४ पोखरीमध्ये १ हजार ८ सय ७९ पोखरीमा बाढीले क्षति पुर्याएको छ। यहाँ वर्षेनी ३ हजार ६ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ।
ग्रामीण उद्यम तथा विप्रेषण आयोजना समृद्धिको प्रारम्भिक तथ्यांकका अनुसार धनुषामा २ हजार ३ सय ५३ पोखरीमा माछा उत्पादन हुँदै आएकोमा १ हजार ६ सय ४७ पोखरीमा क्षति पुगेको छ। धनुषामा प्रत्येक वर्ष ३ हजार ३ सय मेट्रिकटन माछा उत्पादन हुने गर्छ।
त्यस्तै, सिरहामा २ हजार १ सय ५४ पोखरीमा किसानहरुले व्यावसायिक रुपमा माछापालन गर्दै आएका छन्। तर, १ हजार ६ सय १५ पोखरीमा बाढी पसेको छ। महोत्तरीमा १ हजार ९ सय ३५ पाखेरीमा माछा पालन हुन्छ। यहाँ बाढीले सबैभन्दा बढी पोखरीमा क्षति पुर्याएको छ। यहाँ ३ हजार मेट्रिकटन माछा उत्पादन हुँदै आएको छ।
सर्लाहीका ९ सय ८७ पोखरी बाढी र डुवानको चपेटामा परेका छन्। यहाँ १ हजार २ सय ३४ पोखरीमा माछापालन हुँदै आएको छ। सर्लाहीमा प्रत्येक वर्ष २ हजार २ सय मेट्रिकटन माछा उत्पादन हुने गरेको तथ्यांक छ।

यसपटक रौतहट बाढीबाट सबैभन्दा बढी प्रभावित बन्यो। मुख्य बजारदेखि जिल्लाका अधिकांश स्थान डुवानमा परे। यसको प्रत्यक्ष असर माछापालनमा पनि परेको स्थानीय कृषकहरु बताउँछन्। यहाँ माछा उत्पादन हुने १ हजार १ सय ७१ पोखरीहरु मध्ये ९ सय ३७ पोखरीमा क्षति पुगेको छ। प्रत्येक वर्ष २ हजार ५ सय मेट्रिकटन माछा उत्पादन हुँदै आएकोमा यस वर्ष यहाँको उत्पादनमा समेत कमी आउनसक्ने अनुमान गरिएको छ।
३ दिनसम्म परेको लगातार वर्षापछिको बाढी तथा डुवानका कारण प्रदेश २ का ८ वटै जिल्लामा गरी माछापालनमा करिब ३ अर्ब बराबरको क्षति पुगेको समृद्धि परियोजनाका व्यवसाय विकास विज्ञ राकेश झाले बताए। उनका अनुसार माछापालनमा सबैभन्दा बढी क्षति महोत्तरी र बारा जिल्लामा भएको छ।
जनकपुरमा आइतबारदेखि सुरु भएको २ दिने गोष्ठीको पहिलो दिन माछा व्ययसायीको अवस्था र चुनौतीसँगै भविष्यका योजनाबारे छलफल भएको झाले बताए।

'प्रदेश २ लाई माछामा आत्मनिर्भर बनाऔं'
नेपाल उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह हिराले यस प्रदेशलाई विकास गर्नको लागि आधुनिक कृषि प्रणालीसँग जोडेर कृषिजन्य हरेक उत्पादन बढाउन सरकारले सहयोग गर्नुपर्ने धारणा राखे। उनले प्रदेश २ का जिल्लाहरुमा माछाको उत्पादन बढी हुने भएकोले यस प्रदेशलाई माछामा आत्मनिर्भर बनाई देशभर माछाको बजारीकरणको लागि कृषकहरुलाई सहयोग गर्नु आवश्यक रहेको धारणा राखे।
उनले माछा व्यवसायीलाई आधुनिक प्रविधिसँग जोडेर माछाको उत्पादन बढाउनु पर्नेमा जोड दिए।
समृद्धि आयोजनाले गरेको सो गोष्ठीमा प्रदेश १ र २ का माछापालक कृषक, साना र ठूला व्यवसायी, प्राविधिक तथा मत्स्य विज्ञहरुको सहभागिता रहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।