विराटनगर- विराटनगर जुट मिल्स रानीको स्वामित्वमा रहेको पुराना मेसिन लगायतका सामग्री बिक्री-वितरण तत्काल रोक्नुपर्ने मिलका पूर्व कर्मचारी तथा स्थानीय नागरिकले माग गरेका छन्।
विराटनगर जुट मिल्स बचाउ अभियान समिति विराटनगर–१६ ले मंगलबार गरेको पत्रकार सम्मेलनमा जुट मिल सञ्चालक समितिका अध्यक्षले अनियमित रुपले मिल्सको मेसिन र पार्टपुर्जा बेचबिखन गरेको, जग्गा प्लटिङ गरी बिक्री गर्न खोजेकाले तत्काल रोक्नुपर्ने बताएका छन्।
अभियानका अध्यक्ष धर्मानन्द सञ्जेलले कानुनी रुपमा बेचिएको विराटनगर जुट मिल्सको सेयर अविलम्ब खारेज गरी नेपाल सरकारको साबिक ६८ प्रतिशत सेयर कायम गर्नुपर्ने, मिल्सको चल-अचल सम्पत्तिको संरक्षण गर्दै दीर्घकालीन रुपमा उद्योग सञ्चालन गर्नुपर्ने, हाल कार्यरत कामदार कर्मचारीको बाँकी रहेको रकम भुक्तानी हुनुपर्ने र मिल्समा हाल भइरहेको अनियमिमताका छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने चारबुँदे माग पूरा हुनुपर्ने बताए।
पत्रकार सम्मेलनमा अभियानका उपाध्यक्ष प्रकाश साहले मिल्स नेपाल सरकारले सञ्चालन गर्नुपर्ने अन्यथा उक्त क्षेत्रमा जुट संग्रहालय र औद्योगिक क्षेत्र कायम गरी निर्यातमुखी उद्योग स्थापना गर्नुपर्ने बताए। माग पूरा नभए अन्य आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाइएको छ। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।