चितवन- दुई वर्षअघिको भूकम्पले भत्काएको काठमाडौं सुन्धाराको धरहराको याद दिलाउने गरी चितवनको रत्ननगरस्थित टिकौली चौरमा धरहरा निर्माण गरिएको छ।
पुस २७ देखि यहाँ सुरु हुने रत्ननगर महोत्सवका लागि आयोजकले नमूना धरहरा निर्माण गरेका हुन्। महोत्सव मूल आयोजक समिति संयोजक तथा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीले धरहरामा चढेर दृश्यावलोकन गर्न सक्नेगरी बाँसबाट निर्माण गरिएको बताए। नमूना धरहरामा एक पटकमा करिब ४० जना चढ्न सक्नेछन् ।
'यसले महोत्सवको रौनक थपेको र सर्वसाधारणका लागि मुख्य आकर्षक हुने अपेक्षा गरेका छौं', उनले भने।
७५ फिट अग्लो बनाइएको नमूना धरहराको ३० फिट माथिसम्म चढेर वरिपरिको दृश्य अवलोकनको व्यवस्था मिलाइएको उनले बताए।
बाँसलाई कपडाले बाँधेर निर्माण गरिएको अस्थायी धरहराको बाहिरी भाग पूरै सेतो कपडाले बेरेर दुरुस्तै धरहराको रङको झल्को दिइएको छ।
महोत्सव अवलोकन गर्न आउनेलाई थप मनोरञ्जन प्रदान गर्न ऐतिहासिक महत्व बोकेको धरहराको प्रतिमूर्ति निर्माण गरिएको संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले उल्लेख गर्नुभयो।
पुस २७ देखि माघ ७ गतेसम्म सञ्चालन हुन लागेको नवौं संस्करणको रत्ननगर महोत्सव तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रदर्शन र स्थानीयस्तर तथा अन्य क्षेत्रमा उत्पादित वस्तु एवं सेवाको परिचय गराउने ४ सय ५० भन्दा बढी स्टल रहनेछन्। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।