काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी परीक्षण रोक्नका लागि भारतीय दूतावासले पठाएको पत्रबारे आफूलाई ‘अनभिज्ञ' राखिएको बताएका छन्।
बुधबार बेलुका नेपाल टेलिभिजनबाट प्रशारण भएको 'जनतासँग प्रधानमन्त्री' कार्यक्रममा विषादी प्रकरणबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री ओलीले यस्तो स्पष्टीकरण दिएका हुन्। कार्यक्रममा उनले आफूलाई कसले अनभिज्ञ राखेको हो भन्नेबारे केही खुलाएनन् तर संकेत भने कर्मचारी संयन्त्रप्रति गरेका थिए।
‘मलाई पछि मात्र थाहा भयो र त्यस सम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू तथा विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो। तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें।’
पत्रबारे आफूलाई असार २३ गते मात्रै थाहा भएको दाबी गर्दै प्रधानमन्त्रीले आफू यसबाट निकै दुःखी भएको पनि बताए।
‘तर २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ। म त्यसबाट अत्यन्त दुःखीत छु र मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन, तर मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो। एउटा यथार्थ मबाट लुकेको रहेछ।’
त्यसअघि प्रधानमन्त्री ओलीले भारतीय पक्षबाट कुनै पत्र नआएको दाबी गरेका थिए। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको असार २१ मा बसेको संसदीय दलको बैठकमा ‘कस्तो पत्र, कसले पठाएको पत्र?’ भन्दै सांसदहरूमाथि उनले आक्रोश पोखेका थिए।
प्रधानमन्त्रीले त्यस्तो दाबी गरेको २ दिनपछि अर्थात् असार २३ गते भारतीय दूतावासले सो मितिभन्दा एक साताअघि नै परराष्ट्र मन्त्रालयमार्फत् नेपाल सरकारलाई पठाएको पत्र बाहिरिएको थियो। पत्र पठाउँदै दूतावासले विषादी परीक्षण गर्नुको कारण सोधेको खुलासा भएको थियो।
भारतीय दूतावासको पत्र सञ्चारमाध्यममा सार्वजनिक भएपछि रक्षात्मक बनेका प्रधानमन्त्री ओलीले अहिले आएर आफूलाई कर्मचारीले त्यसबाट अनभिज्ञ राखेको दाबी गरेका हुन्।
प्रधानमन्त्रीको यो अभिव्यक्तिले मुलुकको कार्यकारी व्यक्ति नै कति गुमराहमा छन् भन्ने प्रश्न उब्जिएको छ।
यही प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सोमबार पत्रकार सम्मेलनमा सचिवले आफूलाई गुमराहमा राखेको आरोप लगाएका थिए।
प्रधानमन्त्री ओलीले तरकारीमा रहेको विषादी परीक्षण कुनै दबाबबाट नभई ‘तयारी पुगेको छैन’ भनेर आफूले रोक्न निर्देशन दिएको पनि बताए।
‘मैले त आफैं तयारी पुगेको छैन भनेर रोकेको हुँ,’ उनको भनाइ थियो, ‘भित्रभित्रै कुरा भएको रहेछ। विभिन्न ठाउँमा राजदूतले नै भेटेर भनेको आदि पाइयो। यो कुरा त मलाई कसैले बताएन। मैले त हाम्रो तयारी पुगेन भनेर केही समयका लागि तयारी गर्नका लागि रोक्ने निर्देशन गरेको हो।’
यस्तो छ प्रधानमन्त्रीको भनाइः
मलाई पछि मात्र थाहा भयो र त्यस सम्बन्धमा भारतले कूटनीतिक प्रयासहरू र विभिन्न ठाउँमा संवादहरू अघि बढाएको रहेछ। त्यो कुराबाट पनि मलाई अनभिज्ञ नै राखियो। तसर्थ मेरो जानकारीमा नभएको हुनाले मैले पत्र आएको छैन भनें। तर, २३ गते बेलुका मात्र मैले पत्र आएकोबारे जानकारी पाएँ। म त्यसबाट अत्यन्त दुःखीत छु।
र, मलाई जसले जानेर भ्रममा राख्यो वा अन्जानमा बताउन भुल्यो, जेसुकै होस्, मसँग त्यो कुरा आएन र मैले प्रधानमन्त्रीको हैसियतमा त्यो जानकारी पाउनुपर्थ्यो। एउटा यथार्थ मबाट लुकेको रहेछ।
लुकेको कुरा थाहा नहुँदा मैले आएको छैन (पत्र) भनें। त्यसबाट मैले कहीं जनतालाई अल्मल्याउन खोजेको त होइन भन्ने भ्रम पर्ने अवस्था र विरोधीहरूले भएको कुरालाई हैन भन्यो भनेर प्रचार गर्ने मौका पाए। मलाई त्यसमा कुनै त्यो एउटा तथ्यलाई अर्को ढंगले भन्नुपर्ने र त्यसो भन्दा लाभ हुने अवस्था होइन र थिएन।
त्यो चासो सरोकार जनाएको कुरा पनि मसम्म आएको थिएन। मैले त आफैं तयारी पुगेको छैन भनेर रोकेको हुँ। भित्रभित्रै कुरा भएको रहेछ। विभिन्न ठाउँमा राजदूतले नै भेटेर भनेको आदि पाइयो। यो कुरा त मलाई कसैले बताएन। मैले त हाम्रो तयारी पुगेन भनेर केही समयका लागि तयारी गर्नका लागि रोक्ने निर्देशन गरेको हो।
यो कुनै देशसँग लक्षित होइन। सामान्य ढंगले हामीले आयात गर्ने खाद्यपदार्थ शुद्ध हुनुपर्छ भन्ने कुरा हो। यो कुनै देशका विरुद्ध होइन, हामी धेरै देशबाट खाद्य सामग्री आयात गर्छौं, बंगलादेश, थाइल्यान्ड, ब्राजिल, अमेरिकाबाट गर्छौं। तर, अलिक ठूलो भोल्युममा भएकाले त्यसले अलिक चासो सरोकार जनायो होला।
यसअघि अमृतैअमृत आउँथ्यो? छानबिन गर्नु पर्दैनथ्यो? बहुमत राम्रो कुरा मात्र हुन्थ्यो? यतिबेला चाहिँ हल्ला भएको छ। विषादीयुक्त चीज खाने भनेर? तबसम्म किन नबोलेका जबसम्म म बोलिनँ? किन नबोलेको हो? अहिले मैले छानबिन गरिरहेको छु र मित्र राष्ट्रहरूलाई आफ्ना परीक्षण गरेको प्रमाणपत्र दिएर सामान पठाउनु भनेको छु।
अब भयो (परीक्षण गर्ने क्षमता) भनेर प्रस्ताव किन ल्यायो? तर, प्रस्ताव त्यसरी आयो जसबाट म अलिकति झुक्किएँ।
यसलाई बहुतै देशभक्त पल्टिएर र जनताका स्वास्थ्यमा बहुतै सजग पल्टिएर कोही चिकित्सकहरू कराउने, कोही कुन संस्था कराउने? एकैचोटि जुन यो हुइयाँ मच्चिएको छ, यो हुइयाँको सजगताका लागि धन्यवाद छ।
यसअघि किन चुँ पनि गरिएन? म सरकारमा आएपछि त सजगता अपनाएँ। तयारी गर्नुपर्ने ठाउँमा तयारी गरें। अलिकति तयारी नपुगेको रहेछ, घोषणा हतारोका साथ भएछ, त्यसैले केही समयलाई रोकेको हो।
यो पनिः
सचिवले गुमराहमा राखे, म जिम्मेवारी लिन्छु : मन्त्री यादव
निर्णय विवादित बनेपछि मन्त्री-मन्त्रीबीच आरोप-प्रत्यारोप
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।