काठमाडौं- कर्तव्य ज्यान र डाँका मुद्दाका 'फरार' नसिम अमम्मद मुसलमान (नसिम खान) को पक्राउको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा), कपिलवस्तुले विरोध जनाएको छ।
तत्कालीन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य समूह)का नेता रहेका नसिमलगायतका सबैले सरकारसँगको वार्तापछि हातहतियारसमेत बुझाएर शान्तिपूर्ण रुपमा राजनीतिको मुलधारमा आउन लागेको बेला राजनीतिक गतिविधिका क्रममा लगाइएका मुद्दाहरु उल्झाएर नसिमलाई पक्राउ गरिएको भन्दै नेकपा कपिलवस्तुले विरोध जनाएको हो।
नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शनिबार काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको थियो। प्रहरीका अनुसार उनी ७ हत्या तथा एक डकैतीमा सामेल भएका भई फरार थिए।
नेकपा कपिलवस्तुका अध्यक्ष झबिलाल पोख्रेल र सचिव रामचन्द्र शाहद्वारा विज्ञप्ति जारी गर्दै नेपालको संविधान स्वीकार गरी राजनीतिको मुलप्रवाहमा आउने वाचा गरेका व्यक्तिलाई पक्राउ गरिएको भन्दै नसिममाथिका सबै मुद्दाहरु फिर्ता गरी रिहा गर्न माग गरिएको छ।
'नसिम अहमद खानसहित तत्कालीन संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (कौटिल्य समूह) का सबैले नेपालको संविधान स्वीकार गरी मुलप्रवाहमा आउने वाचा गर्दै नेपाल सरकारसँग सम्झौता भइ आफ्ना सबै हातहतियारहरु बुझाएर सामान्य जीवन बिताउने इच्छा जाहेर गर्दै सरकारद्वारा बनाइएका पान्डेलगायत सबै आयोगहरुमा आफ्नो धारणा व्यक्त गरिरहेका बेला एकाएक प्रहरीद्वारा पक्राउ गरी राजनीतिक गतिविधिका क्रममा लगाइएका मुद्दाहरु उल्झाएर कारबाही अघि बढाउन खोजिएकोमा तत्कालै सवै मुद्दाहरु फिर्ता गरी रिहाई गर्नका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा मायादेवी गाउँपालिका-४ निवासी नसिम नेकपाको संगठित सदस्यसमेत रहेको जनाइएको छ।
पक्राउ गरेका नसिमले तत्कालीन नेकपा (एमाले)बाट २०६९ मंसिर १० गते सदस्यता लिएका थिए। एमालेकै संरक्षणमा रहेका उनी हत्या, डकैतीमा संलग्न रहे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन।
पछिल्लो समय उनी २०७४ फागुनमा मोहम्मद रहमानको अपहरणपछि गरिएको हत्यामा संलग्न थिए। त्यसपछि फरार उनी शनिबार मात्रै पक्राउ परेका हुन्।
उनी मायादेवी गाउँपालिका-४ का अध्यक्ष फत्ते मोहम्मदका छोरासमेत हुन्। (तस्बिर-हिमाल खबर पत्रिका)
यो पनिः सिरियल किलर नसिमको यस्तो छ, ७ हत्या शृंखला
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।