इलाम- राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई निर्ब्याजी रु १० लाख ऋण प्रदान गरेको छ।
समितिले सूर्योदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु अढाई लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास समितिका अध्यक्ष नवराज शंकरले बताए।
समितिले १६ वर्षदेखि ४० वर्ष उमेर समूहका युवालाई स्वदेशमै उद्यम सञ्चालन गराउने उद्देश्यअनुसार पहिलो वर्षको कार्यक्रमबाट ऋण लगानी गरेको हो।
ऋणबाट १० युवा संलग्न रहेको समूहले सामूहिक रूपमा व्यवसाय सञ्चालन गर्नुपर्ने प्रावधान छ। परिषद्ले युवा उद्यमी उत्पादन गर्न सरकारको स्वीकृति र अनुदान लिई जिल्ला युवा समितिमार्फत प्रस्तावना आह्वान गरेको थियो।
ऋण पाउने संस्थामध्ये चम्जलुङ उद्यमशील युवा विकास संस्थाले घरबास व्यवसाय, जनज्योति कृषि तथा पशुपालन समूह र सुनौलो बिहानी पशुपालन युवा समूहले कुखुरापालन र ध्वजे गुफा पशुपालन समूहले गाईपालन गर्ने जनाएका छन्। ती समूहलाई पहिलो किस्ताबापत रु अढाई लाखका दरले रकम दिइसकिएको र पुनःएक साताभित्र रु अढाई लाखका दरले चार समूहलाई रु २० लाख ऋण दिइने समितिका अध्यक्ष शंकरले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।