धुलिखेल – गुणस्तर तथा नाप तौल विभागले काभ्रेपलाचोक जिल्लामा मापदण्ड विपरीत ग्यास उद्योग सञ्चालन गरेको जनाउँदै उत्पादन तथा बिक्री वितरण नगर्न आज निर्देशन दिएको छ।
विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले जिल्लाका सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेको थियो। अनुगमन गरिएका ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिनका लागि फाराम भरेको तर चिह्न प्राप्त नगरेको उपाध्यायले बताए। “सगरमाथाबाहेक अरु ग्यास उद्योगले नेपाल गुणस्तर चिह्न लिनको लागि फारामसमेत भरेका छैनन्”, उपाध्यायले भने, “अब ती ग्यास उद्योगले भरेका सिलिण्डरबाहेक अन्य सिलिण्डर भर्न र उत्पादन एवं बिक्रीवितरण गर्न समेत पाइँदैन।”
सरकारले एनएस ५३३ अनिवार्य गुणस्तर तोकेको छ। अनिवार्य रुपमा एनएस लिएको र पूरासमेत गरेको हुनुपर्नेमा त्यो नभएको कारण ती उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिइसकेको उनले बताए। सरकारले राजपत्रमा गत साल कात्तिक २९ गते प्रकाशन गरेको सूचनानुसार तीन महिनाभित्र फाराम भरी गुणस्तर प्रमाण चिह्न ती उद्योगले नलिएको पाइएको छ। केही उद्योगले सेफ्टी भल्बसमेत आफैले मर्मत गरेर बजारमा पठाइएको देखिएको अनुगमन टोलीले जनाएको छ।
उद्योगी अमृत अग्रवालले एकैचोटि ग्यास उद्योग बन्दा गर्दा उद्योगी र ग्राहकलाई मर्का पर्ने भएकाले अलि समय दिएर निश्चित मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने बताए।
सगरमाथा ग्यास उद्योग बनेपा नगरपालिका–१० थापा गाउँमा छ। त्यस्तै सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेका हुन् । जिल्लामा तीलगायत उग्रचण्डी ग्यास उद्योग र हिमाल ग्यास उद्योग गरी पाँच ग्यास उद्योग सञ्चालनमा ल्याए पनि कुनै पनि उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन् । चिह्न प्राप्त नगरेकै कारण अब काभ्रेपलाचोकमा सञ्चालनमा ल्याएका सबै ग्यास उद्योगले ग्यास उत्पादन तथा बिक्री वितरण गर्न पाउने छैनन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।