काठमाडौं– 'म अहिले लिबिया छु। अब ३ महिनापछि इटाली पुग्छु र त्यसपछि कल गर्छु है…' लमजुङ बेँसीसहर नगरपालिका-११ का सन्तोष श्रेष्ठको घरमा फोन गरेका थिए।
घरबाट निस्कँदा युएई जाने भनेर हिँडेका सन्तोषले लिबिया पुगेपछि मात्रै आफू लिबिया हुँदै इटाली जान लागेको परिवारमा जनाकारी गराएका थिए।
इटाली पुगेपछि परिवारले उनको फोन पर्खिरहेको थियो। तर, त्यो नै परिवारका लागि उनको अन्तिम फोन बन्न पुग्यो।
अफसोस, सन्तोष मारिएको नमिठो खबर आइपुग्यो।
OOO
२७ वर्षे सन्तोषको वैदेशिक यात्रा यो नै पहिलो भने थिएन।
१२ कक्षाको अध्ययन सकेर नेपालमा काम खोज्दै भौंतारिएका थिए सन्तोष। भने जस्तो काम नपाएपछि वैदेशिक रोजगारीतिर आकर्षित भए।
त्यसपछि उनी गए, मलेसिया। मलेसिया ३ वर्ष बसेर फर्किएका उनी त्यसपछि कतार गएर डेढ वर्ष बसे। काम राम्रो नभएपछि २ वर्षको करार अवधि पनि उनी पूरा बसेनन्।
घरमै बसिरहेका उनी गत माघमा युएई जाने भन्दै घरबाट निस्किए। तर, मानव तस्करको चंगुलमा फसेका उनी पुगे लिबिया।
लिबिया पुगेपछि उनी हरेक दिन बम, बारुद छल्दै इटाली जानका लागि प्रयासरत थिए।
तर, सन्तोष सफल हुन सकेनन्। न इटाली पुग्न पाए, न त घरै फर्कन सके।
युद्धग्रस्त अफ्रिकी मुलुक लिबियामा चर्किरहेको द्वन्द्वमा परे। बुधबार भएको बम विस्फोटमा उनले ज्यान गुमाए।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार त्रिपोलीस्थित ताजुरा डिटेन्सन सेन्टरमा भएको विस्फोटमा सन्तोषसहित ४० जनाको मृत्यु भयो। एक सयभन्दा धेरै घाइते भए।
उक्त घटनापछि शान्ति सेनामा रहेका सन्तोषकै आफन्त पर्ने एक प्रहरीले परिवारलाई फोन गरे, 'लिबियामा मानव तस्करको चंगुलमा परेर सन्तोषले ज्यान गुमाए।'
इटाली पुगेर फोनको प्रतीक्षामा रहेको श्रेष्ठ परिवार यो खबरले विक्षिप्त बन्यो।
४५ वर्षीया आमा र ५० वर्षीय बुबाका जेठो छोरो हुन् सन्तोष।
‘७ लाख लिएर घरबाट निस्किनुभएको थियो। लिबिया पुगेपछि इटाली जानका लागि थप ५ लाख लाग्ने भन्दै फोन गर्नुभएको थियो,’ सन्तोषकी बहिनी अनिता श्रेष्ठले नेपाल लाइभसँग भनिन्।
लिबियाबाट फर्किएका सैनामैना १० रुपन्देहीका गणेश थापामगरका अनुसार इटालीमा राम्रो कमाइको प्रलोभन देखाएर एजेन्टहरुले इटाली पुर्याउने सपना देखाएर थप पैसा माग्ने गर्छन्। सोही प्रलोभनमा परी सन्तोषले बुबासँग ५ लाख थप रकम माग गरेका हुँदा हुन्।
लिबियाको आतंककारी हमालमा परी उनको ज्यान गएको त्रिपोलीस्थित अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम) लाई उद्धृत गर्दै कायरोस्थित नेपाली दूतावासले जनाएको छ।
लिबियाको लोभ
लिबियाको डेरिमिल्क कम्पनीमा प्याकिङको काम भएको र कमाइ मासिक १ हजार अमेरिकी डलर हुने भन्दै धेरै युवाहरुलाई लिबिया पुर्याउने गरिएको पाइएको छ।
यस्तो कार्यमा अमर बगाले, आफूलाई राहुल गहतराज र तिर्थराज विश्वकर्मा भनेर चिनाउने राहुल थापा, कमल भनेर चिनाउने लोकमान राई लगायत मानव तस्करी संलग्न रहेको खुलेको छ। १५ जनाभन्दा बढी युवाहरुलाई राम्रो काम र कमाइको प्रलोभन देखाएर अलपत्र पारेको भन्दै मानव बेचविखन अनुसन्धान ब्युरोले उनीहरुलाई पक्राउ गरिसकेको छ।
एक महिनाअघि मात्रै लिबिको त्रिपोलीस्थित युद्धग्रस्त क्षेत्रमा मानव तस्करले पुर्याएका २५ जनाभन्दा बढी युवालाई आइओएम, इजिप्टको कायरोस्थित नेपाली दूतावास, नेपाली शान्ति सेनाको टोलीले उद्धार गरी नेपाल फर्काएको थियो।
सम्बन्धित
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।