जनकपुर- जनकपुरस्थित रत्नसागर मन्दिरका महन्त बैकुण्ठ दासलाई अदालतले १२ वर्ष जेल सजाय सुनाएको छ। जिल्ला शिक्षा कार्यालय महोत्तरीका तत्कालीन शाखा अधिकृत लाल झाको कर्तव्य ज्यान मुद्दाका आरोपी उनलाई बुधबार उच्च अदालत जनकपुरले १२ वर्षको सजाय सुनाएको हो।
मुख्य न्यायाधीश हरिकुमार पोखरेल र न्यायाधीश बालकृष्ण उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई पल्टाउँदै महन्त दासलाई १२ वर्षको जेल सजाय सुनाएको हो। जनकपुरधाम नगरपालिका-८ स्थित नीजि निवासबाट मोटरसाइकलमा जलेश्वरका लागि हिँडेका झाको २०६७ कार्तिक ११ गते गोली प्रहार गरी हत्या भएको थियो।
उच्च अदालत जनकपुरले घटनाका योजनाकार महन्त दास रहेको ठहर गर्दै सजाय सुनाएको अधिवक्ता विमल मिश्रले जानकारी दिए।
यसअघि जिल्ला अदालतले घटनामा संलग्न भनिएका शिवकुमार ठाकुर, सुनिलकुमार अधिकारी र राकेश पाण्डेयलाई जन्मकैदको फैसला सुनाएको थियो भने महन्त दासलाई सफाइ दिएको थियो। उच्च अदालत जनकपुरले शिवकुमार, सुनिल र राकेशको हकमा भने जिल्ला अदालतको फैसलालाई सदर गरेको छ।
केही महिना पहिले कीर्ते जालजासी गरी मठमन्दिरको जग्गा बेचबिखन तथा ठगी गरेको मुद्दामा उच्च अदालत जनकपुरले दासलाई पुर्पक्षका लागि हिरासतमा राख्न आदेश दिएको थियो। उच्च अदालतले आदेश दिएसङ्गै उनी हाल फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।