लेगोस– नाइजेरियाको दक्षिणी क्षेत्रमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ।
स्थानीय अधिकारीहरूले मंगलबार दिएको जानकारी अनुसार घटनामा परी अरु १ सय १ जना घाइते पनि भएका छन्।
बेन्यु राज्यको अहुम्बे गाउँमा सोमबार घटना भएको हो। सडकमा ट्याङ्कर पल्टिएर दुर्घटना भएको बताइएको छ।
ट्याङ्करबाट चुहिएको पेट्रोलियम पदार्थ थाप्नेहरूको भिड लागेका बेला ट्याङ्करमा आगलागी भएको अधिकारीहरूले जनाएका छन्।
सडक सुरक्षा दलका प्रदेश कमाण्डर अलियु बाबाले प्रदेश राजधानी माकुर्दीमा पत्रकारहरूलाई दिएको जानकारी अनुसार भत्किएको सडकमा चालकले लापरबाही तरिकाले ट्याङ्कर चलाएका थिए। त्यही बेला ट्याङ्कर हल्लिएर पल्टिएको उनले बताए।
आगलागी हुनुभन्दा अगाडी कम्तीमा ४५ मिनेटसम्म स्थानीयवासीले पेट्रोलियम पदार्थ थापेका थिए। उनीहरूले पेट्रोलियम पदार्थ थापिरहेकै बेला एउटा बस आएर त्यही ट्याङ्करमा ठोक्किएपछि आगलागी भएको थियो।
मारिएका मध्ये १४ जना बसका यात्रु रहेका छन् भने अरु पेट्रोलियम पदार्थ थाप्न आएका स्थानीय बासिन्दा रहेका छन्।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले एक वक्तव्य जारी गर्दै घटनामा परी निधन भएकाहरूप्रति दुःख व्यक्त गरेका छन् भने घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।