काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भएपछि नेपाल राष्ट्र बैंकले पछिल्ला दिनहरुमा रकम पठाउन थालेको छ। बुधबार १० अर्ब पठाएको राष्ट्र बैंकले बिहीबार थप १० अर्ब रुपैयाँ बजारमा पठाउँदै छ।
बैंक तथा वित्तीय संस्थाले बुधबार २२ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ मागेपछि केन्द्रीय बैंकले पुनः बजारमा पैसा पठाएर समस्या समाधान गर्न लागेको हो। लगानीयोग्य पुँजीको संकट टार्न राष्ट्र बैंकले बुधबार १० अर्ब रुपैयाँ बजारमा पठाएको थियो। तर, २३ बैंक तथा वित्तीय संस्थाले झन्डै २३ अर्ब रुपैयाँ मागेपछि बिहीबार पुनः थप रकम पठाइन लागेको राष्ट्र बैंक स्रोतले बतायो।
यो समेत गरी एक सातामा राष्ट्र बैंकले बजारमा २५ अर्ब रुपैयाँ पठाउनेछ।
सरकारको विकास ऋणपत्र सीधै खरिद गर्ने उपकरणमार्फत राष्ट्र बैंकले बैंकिङ प्रणालीमा पुनः रकम पठाउन लागेको हो। बुधबार १३ बैंक तथा वित्तीय संस्थाले १० अर्ब रुपैयाँ लगेको राष्ट्र बैंकले जनाएको छ।
अधिक रकम माग भएकाले बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजीको अभाव भएकोे हो। गत आइतबार ५ अर्ब रुपैयाँको विकास ऋणपत्र निष्कासन गरेकोमा १९ अर्ब रुपैयाँ माग भएपछि केन्द्रीय बैंकले लगानीयोग्य पुँजीको समस्या समाधान गर्न बुधबार थप रकम पठाएको हो।
राष्ट्र बैंकका अनुसार मंगलबारसम्म बैंकिङ प्रणालीमा ४१ अर्ब रुपैयाँ अधिक तरलता देखिएको छ। अधिक तरलता भए पनि केही बैंकमा लगानीयोग्य पुँजीको समस्या देखिएपछि तत्कालका लागि राष्ट्र बैंकले ऋणपत्र खरिद गरेको हो। राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सीधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो। यो वर्ष दुई पटक गरी १५ अर्ब रुपैयाँ बजारमा पठाइसकेको छ।
बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहँदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन। अन्तर बैंक ब्याजदर साढे ४ प्रतिशतमा अडिएकाले राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो। अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्ने परम्परा छ।
अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।