काठमाडौं- देशमा एक खर्ब ५१ अर्बको प्रत्यक्ष वैदेशिक लगानी भएको नेपाल राष्ट्र बैंकको अध्ययनमा देखिएको छ।
अध्ययन अनुसार २ सय ५२ वटा कम्पनीमा उक्त रकम लगानी भएको हो। लगानी गरिएका उद्योगमा ३७ वटा उत्पादनमूलक उद्योग छन् भने ११ वटाले निर्यातजन्य सामग्री उत्पादन गर्दै आएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘निर्यात प्रवर्द्धन’ विषयक कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले द्रुत गतिमा उपभोग हुने उपभोग्य सामग्रीको अधिक व्यापार हुने गरेको र त्यस्ता आठ वटा उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी रहेको बताए।
तीन वटा उद्योगले पनि निर्यातजन्य सामग्री उत्पादन गरिरहेका जानकारी दिँदै उनले उपभोग्य सामग्री उत्पादन गर्ने आठ र तीन वटा उत्पादनमुखी उद्योगले मात्र निर्यात व्यापार गर्दै आएका बताए।
कार्यक्रमका अधिकांश वक्ताले भारतसँगको स्थिर मुद्रा सटही प्रणाली पुनरावलोकन हुनुपर्ने, उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने, उद्यमशीलता विकासका निम्ति निजी क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए।
अलैंची, अदुवा, चिया जस्ता निर्यातजन्य कृषि उपज भारतमा मात्र नभई अन्य मुलुकतर्फ निकासी गर्नेगरी ठूलो परिमाणमा उत्पादन गर्नुपर्ने तथा गलैंचा, तयारी पोशाक र पश्मिनाको बजारीकरणमा आक्रामक ढंगले लाग्नुपर्ने उनीहरुको भनाइ थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।