इलाम- केही वर्षयता निरन्तर ओरालो लागेको अलैंचीको मूल्य अहिले क्रमिक रूपमा बढ्दै गएपछि किसान हर्षित भएका छन्।
कुनै समय अलैंचीको भाउ प्रतिमन (४० किलो) एक लाख २० हजार रुपैयाँसम्म पाएका किसान भाउ घटेपछि निराश बनेका थिए। तर दुई सातायता मूल्य बढ्दै जान थालेपछि किसान उत्साहित बनेका छन्। अहिले अलैंची प्रतिमन ३५ हजारदेखि ३८ हजार रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ। यसअघि कारोबार ठप्प जस्तै रहेको अलैंचीको भाउ वृद्धि भएसँगै कारोबारमा वृद्धि हुन थालेको छ।
उचित मूल्य पाउने आसमा किसानले तीन/चार वर्षदेखि अलैंची गोदाममा थन्क्याएर राखेका थिए।
'गत वर्षको तुलनामा भाउ बढ्दै गएपछि किसानमा केही आशा पलाएको छ', फुएतप्पाका कर्णबहादुर राईले भने, 'अलैंचीको भाउ नआउँदा एक वर्षदेखि गोदाममै थन्किएको थियो।'
छिर्केफुर्के रोगले जिल्लामा धेरै अलैंची बगान मासिएको थियो। भाउ पाउने आसमा किसानले विभिन्न ठाउँबाट बिरुवा खरिद गरेर अलैंची रोपिरहेका छन्। किसानलाई जिल्ला कृषि विकास कार्यालयले पनि अनुदानमा अलैंचीका बिरुवा उपलब्ध गराउँदै आएको छ।
यस वर्ष अलैंची कारोबार गत वर्षको तुलनामा आधा मात्र भएको जिल्ला कृषि कार्यालयले जनाएको छ। इलाममा आर्थिक वर्ष ०७३/७४ मा एक हजार सात सय हेक्टर क्षेत्रफलमा ५ सय ७६ मेट्रिक टन अलैंची उत्पादन भएको थियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।