काठमाडौं- हाइड्रो सोलुसनले प्रवर्द्धन गर्न लागेको आँखु हाइड्रो पावरमा सनराइज बैंकको नेतृत्वमा विभिन्न ७ वटा बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन्।
लगानीसम्बन्धी द्विपक्षीय सम्झौतामा सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधान र बैंकका प्रतिनिधिले मंगलबार संयुक्त रुपमा हस्ताक्षर गरे।
सो आयोजनामा सनराइज बैंकको नेतृत्वमा जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेड, बैंक अफ काठमाडौँ, सेन्चुरी कमर्सियल बैंक, ज्योति विकास बैंक, लक्ष्मी बैंक, एनसिसी र प्रभू बैंकले संयुक्त रुपमा लगानी गर्ने भएका छन्।
धादिङ जिल्लाको आँखु नदीमा निर्माण हुन लागेको ४३ मेगावाट क्षमताको सो आयोजनाको कुल लागत रु ६ अर्ब ३० करोड रहेको छ। बैंक तथा वित्तीय संस्थाले सो आयोजनामा रु ४ अर्ब ७२ करोड लगानी गर्नेछन्।
रु १ अर्ब २४ करोड प्रवर्द्धक हाइड्रो सोलुसनले लगानी गर्नेछ। स्थानीयवासीका लागि रु १६ करोड र रु २४ करोड बराबरको साधारण शेयर जारी हुनेछ। आयोजनाबाट उत्पादित विद्युत् ३० किलोमिटर लामो प्रसारण लाइनमार्फत नुवाकोटको त्रिशूली थ्री ए वा त्रिशुली थ्री बीका लागि निर्माण गरिने सवस्टेशनमा जोडिनेछ।
प्रसारण लाइन निर्माणसमेत आफै गर्ने तयारीका साथ आयोजना निर्माणमा जुटेको सोलुसनका प्रमुख ज्ञानेन्द्रलाल प्रधानको भनाइ छ। नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापतिसमेत रहेका उनले आगामी तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।