इस्लामावाद- पाकिस्तानी सरकारले आफ्नो देशमा रहेका भारतीय कैदीहरूको नामावलीको सूची सोमबार भारतलाई बुझाएको छ।
इस्लामावादमा भारतको उच्च आयोगलाई बुझाइएको सूचीमा २ सय ६१ जनाको नामावली रहेको पाकिस्तानी विदेश मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा जारी वक्तव्यमा पाकिस्तान र भारतबीच सन् २००८ को मे २१ तारिखका दिन भएको सहमतिअनुसार कैदीहरुको सूची बुझाइएको उल्लेख छ।
सो सहमतिमा दुवै देशले आफ्नो देशमा रहेका एक अर्का देशका कैदीहरूको नामावलीको सूची सम्वन्धित देशलाई बुझाउने उल्लेख गरिएको समाचारमा जनाइएको छ।
पाकिस्तानले बुझाएको कैदीको सूचीमा ५२ जना आम नागरिक र २ सय ९ जना माझीहरु छन्।
भारतीय सरकारले पनि भारतमा रहेका पाकिस्तानी कैदीहरुको सूची पाकिस्तानी उच्च आयोगलाई नयाँ दिल्लीमा बुझाउने वक्तव्यमा उल्लेख गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।