पथरी– मोरङको रंगेली–३ रञ्जनीका किसान यमनाथ पाठकको काम मौरी चराउने हो।
आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि घार नै बोकेर उनी मौरी चराउन निस्किन्छन्। तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका छन्। रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन्।
स्थानीय खडानन्द खनालका अनुसार ४ बिघामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको बताए। पहिले तोरीमा लाई लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ। मौरी ल्याएपछि आफूले तोरीमा विगत ४/५ वर्षदेखि कुनै पनि कीटनाशक औषधि प्रयोग नगरेको र प्रतिबिघा २० देखि २२ मनसम्म तोरी उब्जनी हुने गरेको खनाल बताउँछन्।
२०६० सालदेखि यो पेशामा लागेका यमनाथले सुरुमा ४ घारबाट मौरीपालन थालेका हुन्। 'अहिले २ सय घार मौरी पालेको छु,' पाठकले भने, 'एक घारमा ५० देखि ६० हजारसम्म मौरी हुन्छन्। वार्षिक रुपमा २ सय घारबाट ५ हजार केजी मह उत्पादन हुन्छ।'
पाठकले बर्सेनि ३० लाख रुपैयाँ बराबरको मह बिक्री गरेको गरेको जनाए। उनका अनुसार मह प्रतिकेजी ६ सय रुपैयाँका दरले बिक्री हुनेगरेको छ।
पाठकले मोरङ, झापा, सुनसरी, ताप्लेजुङ र पाँचथरका विभिन्न सहरमा मह बिक्री गर्ने गरेको जनाए। पाठकले मौरीपालनबाट मनग्गे आम्दानी गरेपछि उत्तरी मोरङका कृषक मौरीपालन तर्फ आकर्षित भएका छन्।
मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ–भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायिक रुपमा मौरी पालन हुँदै आएको छ। मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।