रोल्पा- अनुदानबाट जडान गरिएका सौर्य ऊर्जाले रोल्पाका ग्रामीण बस्ती झलमल्ल भएका छन्।
जिल्लाका ४८ प्रतिशत घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ। सौर्य ऊर्जामा जनताको पहुँच बढेसँगै उज्यालोका लागि सल्लाको दियालो र मट्टितेलको टुकी प्रयोग गर्नुपर्ने झण्झटबाट जिल्लावासी मुक्त भएका छन्।
जिल्लामा साना र घरेलु सौर्य ऊर्जासमेत गरी प्रयोगकर्ताको संख्या २० हजार ९५१ घरधुरी देखिएको छ। यो संख्या जिल्लाको कुल घरधुरी संख्याको करिब ४८ प्रतिशत हो।
सौर्य ऊर्जामध्ये ७ हजार ३४४ घरधुरीले साना घरेलु सौर्य ऊर्जा र १३ हजार ६०३ घरधुरीले घरेलु सौर्य ऊर्जा प्रयोग गर्दै आएको ऊर्जा शाखा तथा वातावरण शाखाले जानकारी दिएको छ। सौर्य ऊर्जामा सरकारले अनुदान दिएकाले पनि यसको अधिकतम घरधुरीमा यसको पहुँच पुगेको हो।
साना तथा घरेलु सौर्य ऊर्जाबाट बत्ती बाल्ने, टेलिभिजन हेर्ने तथा मोबाइल चार्जको काममा समेत टेवा पुगेको स्थानीयले बताएका छन्।
जिल्लामा विद्युतीय ऊर्जा प्रयोगकर्ता ३० प्रतिशत देखिएका छन्। जिल्लाका सात हजार ७४४ घरधुरीले नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रशारण उपभोग गरिरहेका छन्।
यसैगरी जिल्लाका ५ हजार ६०८ घरधुरीले स्थानीय खोलानालाबाट निकालिएको लघु जलविद्युत् उपभोग गर्ने गरेका छन्। हालसम्म जिल्लाका विभिन्न ३३ वटा साना तथा लघु जलविद्युत् योजनाबाट ६१७ किलोवाट जलविद्युत् उत्पादन भएको जिल्ला ऊर्जा तथा वातावरण शाखा रोल्पाले जानकारी दिएको छ।
लघु जलविद्युत्का ६३ योजनामध्ये ३३ वटा पूरा भएको, दुई वटा बिग्रिएको र ३१ वटा निर्माणाधीन रहेको ऊर्जा इञ्जिनियर हुकुम बुढाले जानकारी दिए। निर्माण सम्पन्न ३३ मध्ये साना जलविद्युत् १८ वटा र लघु जलविद्युत् १५ वटा रहेको उनले बताए।
वैकल्पिक ऊर्जाको अर्को स्रोतको रुपमा रहेको बायोग्यासका प्रयोगकर्ता भने जिल्लामा निकै कम देखिएका छन्। विभिन्न संघ संस्थाले बायोग्यास जडानका लागि अनुदानसहित सहयोग गर्दै आएको भए पनि यसप्रति भने जनताको आकर्षण खासै देखिएको छैन। जिल्लामा २०५ घरधुरीले मात्रै बायोग्यास जडान गरेको जिल्ला ऊर्जा तथा वातावरण शाखाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।