काठमाडौं- सरकारबाट अनुदानप्राप्त रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पुर्याएको साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ।
कर्पोरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक बहुतत्वयुक्त रासायनिक मल २८ बिक्री केन्द्रमार्फत बिक्री वितरणमा ल्याएको छ। ती मलले तेलहन, तरकारी तथा अन्य बालीका बिरुवाका लागि अति आवश्यक तथा सुक्ष्म तत्वको आपूर्ति बढाउन सहजता प्रदान गर्दछ।
सरकारले कृषि सामग्री कम्पनीलाई ७० प्रतिशत र सो कर्पोरेशनलाई बाँकी ३० प्रतिशत अनुदान दिई युरिया, डाइएमोनियम फस्फेट र म्यारेट अफ पोटास मल आयात गरी बिक्री वितरण गर्न अनुमति दिएको छ।
कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम कृषकको माग तथा बालीको उत्पादकत्व वृद्धि गर्न गैर अनुदानमा मल आयात गरेको जानकारी दिइन्।
नेपालमा बर्सेनि ५ लाख मेट्रिक टन विभिन्न किसिमका रासायनिक मल आवश्यकता पर्दछ। तीमध्ये सरकारले पछिल्लो वर्ष ३ लाख मेट्रिक टनमा अनुदान दिने गर्दछ। कर्पोरेशनले २०६९ सालदेखि अनुदानका मल बिक्री वितरण गर्दै आएको थियो।
माटोको अम्लियपनलाई सिङ्गल सुपर फस्फेटमा भएको क्याल्सियम तत्वले ठिक पार्ने, एमोनियम सल्फेटले बिरुवाका लागि आवश्यक तत्व प्रदान गर्ने चर्चा गर्दै छोटो समयमा आम कृषकले मललाई रुचाएको श्रेष्ठले बताइन्।
कर्पोरेशनले ती दुई मल आयात गरी बिक्री वितरण गरेको तीन महिना मात्र भएको छ। यस अवधिमा करिब ३० हजार मेट्रिक टन खपत भइसकेको छ।
अनुदानित युरिया मलबाट ४६, डाइएमोनियम फस्फेटबाट १८ र म्यारेट अफ पोटासबाट ४६ प्रतिशत तत्व माटोको पौष्टिक सन्तुलन मिलाउन प्राप्त हुने गर्दछ।
सका अतिरिक्त अन्य १३ वटा तत्व पनि बिरुवाका लागि आवश्यक पर्छ। यी आवश्यक तत्व कर्पोरेशनले बिक्री वितरण गरेका मलबाट प्राप्त हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताइन्।
कर्पोरेशनका व्यापार निर्देशक पंकज जोशीले सरकारले अनुदान दिएको मलभन्दा कर्पोरेशनले आयात गरी बिक्री वितरण गरेको मल सस्तो रहेको जानकारी दिए। एमोनियम सल्फेट प्रतिकेजी रु १८ र सिङ्गल सुपर फस्फेट २६ रुपैयाँ ५० पैसामा बिक्री वितरण भइरहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।