ट्रम्प किम पहिलो भेटका क्रममा सिंगापुरमा।
काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोन उनबीच आइतबार भेट हुने भएको छ। सीमास्थित सैन्य निसश्त्रिकृत क्षेत्र पानमुनजोममा किमसँग संक्षिप्त भेट गर्ने ट्रम्पले पुष्टी गरेका बिबीसीले उल्लेख गरेको छ।
अचानक हुन थालेको यो भेट शनिबार ट्रम्पले किमसँग हात मिलाउने चाहाना राख्दै भेटको प्रस्ताव ट्विवटरमार्फत गरेपछि तय भएको हो।
सोलमा ट्रम्पसहित आयोजित पत्रकार सम्मेलनमा दक्षिण कोरियाली राष्ट्रपति मुन जाई इनले सिमा क्षेत्रमा ‘शान्तिका लागि हात मिलाउने’ उल्लेख गरेका थिए। दुई नेताबीच आइतबार मध्यान्नतिर भेट हुने इनले बताए। यद्यपी उत्तर कोरियाले भने भेट हुनेबारे पुष्टी गरेको छैन।
जापानको ओसाकामा जारी जी–२० शिखर सम्मेलनमा भाग लिन जापानको ओसाकामा रहेका ट्रम्प शनिबारदेखि दुई दिनको यात्राका लागि दक्षिण कोरियाको राजधानी सोलमा छन्।
सामाजिक सञ्जाल ट्विटरमार्फत शनिबार राष्ट्रपति ट्रम्पले अचानक किम जोङ उनलाई भेटको प्रस्ताव गरेका थिए।
दुई कोरियाको सीमास्थित सैन्य निसश्त्रिकृत क्षेत्र- पानमुनजोम।
ट्रम्पले लेखेका थिए, ‘केही महत्वपूर्ण भेट, जसमा चीनका राष्ट्रपति सीसहितको भेटपछि अब दक्षिण कोरिया जाँदैछु। यदि चेयरम्यान किम जोङ उनले चाहे हामी सीमामा हात मिलाउन सक्छौं। हेलो भन्न सक्छौं।’
जपानको ओसाकामा सम्पन्न जी–२० सम्मेलनका क्रममा पत्रकारसँग कुराकानी गर्दै राष्ट्रपति ट्रम्पले शनिबार बिहानै किमसँगको भेट हुनेबारे सोचेको बताएका थिए। साउदीका क्राउन प्रिन्स मोहम्मद बिन सलमानको साथ उनले लञ्च गरेका थिए। पत्रकारसँग कुरा गर्दै उनले भनेका थिए, ‘यदि उनी उक्त स्थानमा भएमा हामी दुई मिनेट भेट गर्नेछौं। यो राम्रै हुनेछ।’
राष्ट्रपति ट्रम्पले नोभेम्बर २०१७ मा दुई कोरियालाई विभाजन गर्ने क्षेत्र सैन्य निशस्त्रिकृत इलाकाको भ्रमण गर्ने प्रयास गरेका थिए। तर, खराब मौसमका कारण उनी फर्कन बाध्य भएका थिए।
ट्रम्प र किमबीच यो वर्ष फ्रेब्रुअरीमा हनोईमा भेट भएको थियो। तर, त्यो भेट असफल भएको थियो। यही भेटपछि दुई देशको सम्बन्धमा दरार आएको मानिँदै आएको छ।
अमेरिकी चाहना उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम रोकोस् भन्ने छ। तर, उत्तरले आफूमाथि लागेको आर्थिक प्रतिबन्धबाट राहत चाहँदै आएको छ।
पछिल्ला महिनाहरुमा ट्रम्पले किमको नाम पटक-पटक लिने गरेका छन्। गत साता उनले उत्तर कोरियाली सर्वोच्च कमान्डर किमलाई एक व्यक्तिगत पत्रसमेत लेखेका थिए। किमले उक्त पत्रलाई 'शानदार' रहेको भनी टिप्पणी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।