रामपुर, पाल्पा- आजभन्दा सात वर्षअगाडि वनमारासहितको झाडीले भरिभराउ झिरुवासको काउलेडाँडा वनले अहिले इलाम चिया बगानको स्वरुप लिन थालेको छ।
आम्दानीका लागि यहाँका स्थानीवासीले खेर गएको जमिन सदुपयोग गर्दै अम्रिसो खेती गर्न थालेपछि काउलेडाँडा वन इलामको चिया बगानको स्वरुपमा विकास हुँदै गएको छ।
पाल्पाको निस्दी गाउँपालिका– ३ झिरुवासको काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर अम्रिसो लगाउन थालेपछि यसले विकासको मुहार फेरेको छ। यहाँ दिनहुँ सयौँको संख्यामा घुम्न आउने, अवलोकन भ्रमण तथा प्रेमी-प्रेमिका रमाउन आउनेको जमात बढ्दो छ।
प्रयोगविहीन अवस्थामा रहेको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीका कारण अहिले यो क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बन्न पुग्दा यहाँका स्थानीयवासी खुशी छन्। यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटक काउलेडाँडा वनको अवलोकन गर्दै इलामको चिया बगानको अनुभूति गरेर फर्कने गरेको पाइन्छ।
रामपुर नगरपालिकाबाट सवारी साधनमा झन्डै दुई घन्टा लगाएर काउलेडाँडा पुगेर अम्रिसो खेती, त्यहाँको स्वच्छ हावापानी, उत्तरतर्फ पाल्पाको रामपुर, स्याङ्जाको चापाकोट उपत्यका, कलकल बग्दै गरेको कालीगण्डकी, हिमालका दृश्यसँगै रमाउँदै तस्वीर खिच्नेको निकै चहलपहल हुने गर्छ।
पर्यटकीय क्षेत्रका रुपमा विस्तार हुँदै जाँदा काउलेडाँडा अवलोकनसँगै वनभोज जानेको पनि उत्तिकै आकर्षण छ।
अहिलेसम्म देशका पूर्वी भेगदेखि पश्चिमसम्मका ५६ जिल्लाबाट काउलेडाँडा अवलोकनका निम्ति आइसकेको काउलेडाँडा कृषि सहकारी संस्थाका अध्यक्ष एवं निस्दी– ३ का वडाध्यक्ष लक्ष्मीप्रसाद पाटाले बताए।
यहाँ लगाइएको अम्रिसो खेतीबाट यस क्षेत्रका स्थानीयको जीवनस्तर उकासिँदै गएको काउलेडाँडा कबुलियती वनका अध्यक्ष दमन सिं पाटाले बताए। कबुलियती वनमा साविक झिरुवास गाविस वडा नं ४, ६, ७, ८ र ९ का २२७ घर परिवार आबद्ध उपभोक्तामध्ये १९ वटा उपसमूह विभाजन भएर अम्रिसो खेती गरिँदै आएको कार्यालय सचिव वीरबहादुर पाटाले बताए।
एफएओको आर्थिक सहयोग, जिल्ला वन कार्यालय पाल्पाको समन्वय र स्थानीयको सक्रियतामा काउलेडाँडामा २०६७ जेठ २ गतेदेखि अम्रिसोका बिरुवा रोपण थालिएको हो। दुई सय ४७ हेक्टर क्षेत्रफलमा फैलिएको काउलेडाँडा वन क्षेत्रमा हाल पशु विकास कार्यक्रम पनि सञ्चालनमा रहेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।