काठमाडौं– भारतको विहार राज्यअन्तर्गत वैशाली जिल्लामा बलात्कारको घटनाको विरोध गरेको आरोपमा आमाछोरीलाई शीर मुन्डन गरेर गाउँ घुमाइएको छ।
भारतीय पत्रिका 'द वायर'का अनुसार विहारको एक गाउँ वैशालीमा एक स्थानीयले गरेको बलात्कारको असफल प्रयासका विरुद्ध ती आमाछोरीले आवाज उठाएका थिए। स्थानीय एक पार्सदले बलात्कारको प्रयास गरेका थिए। बलात्कार प्रयासपछि सो कार्यको विरोध गर्दै आवाज उठाएका ४८ वर्षीया महिला र उनकी विवाहित १९ वर्षकी छोरीलाई शीर मुन्डन गरेर गाउँ घुमाइएको हो।
प्रहरीका अनुसार पार्सद मोहम्मद खुर्शिद र उनका सर्मथकहरुले महिलामाथि हिंसा गर्दै गाउँ घुमाएका हुन्। यो घटनाको भिडियो भाइरल भएलगत्तै प्रहरीले आरोपित पार्सद र अन्य ३ जनालाई नियन्त्रणमा लिएको छ। भगवानपुर प्रहरी कार्यालयका एसएचओ सञ्जय कुमारले घटनाको पुष्टि गर्दै यो मामला प्रहरीको अनुसन्धानमा आइसकेको बताए।
‘केही मानिसहरु घरभित्र छिरेर युवतीको बलात्कार गर्ने प्रयास गरेका थिए,’ उनले भने, ‘त्यही समयमा आमाले आफ्नी छोरीको बचाउने प्रयास गर्दा उनीहरु दुवैलाई शारीरिक रुपमा यातना दिएको देखिन्छ।’
आरोपीहरुले एक महिलालाई डन्डीले पिटी घाइते बनाएर उनको घर बाहिर निकालेर पञ्चायत बसाएको उनको भनाइ छ। पार्सद खुर्शिद नेतृत्वको टोलीले त्यसपछि उनीहरुको शीर मुन्डन गरेर गाउँ घुमाएको ती प्रहरीअधिकारीले बताए।
प्रताडित महिलाले पुलिसलाई दिएको बयानमा साँझ यस्तो घटना भएको बताएकी छन्। ‘हामी साँझ ६ः३० बजे आफ्नो घरमा बसिरहेको अवस्थामा जबरजस्ती घरभित्र छिरे। ममाथि बलात्कारको प्रयास भयो, 'पीडित युवतीले भनिन्, ‘जव मेरी आमाले त्यसको विरोध गर्दै प्रतिरोध गर्ने प्रयास गरेपछि उनीहरुले आक्रमण गरि घाइते बनाएर कपाल काटेर गाउँ घुमाइएको हो।’
खुर्शिदले आमाछोरीले घरमा देहव्यापार चलाएको आरोप लगाउँदै यस्तो घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन्। यो प्रकरणमा पार्सद खुर्शिदसहित ७ जनाविरुद्ध आइपिसी (भारतीय दण्ड संहिता)को धारा ३७६ र ५११ विरुद्धको कार्य गरेको आरोपमा आरोपपत्र दायर हुनेछ। (तस्बिर- एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।