पथरी– पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो। प्रदेशस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ।
मोरङको उर्लाबारी– ४ सिसौलीमा २ बिगाहा क्षेत्रफलमा रोयल हेरिटज रिसोर्ट बन्दै छ। पथरीका तीन जना युवा व्यवसायीले उक्त रिजोर्ट बनाएका हुन्। सुविधा सम्पन्न बनाउने लक्ष्यका साथ सञ्चालनमा आएको रोयल हेरिटेजले निर्माणको आधा काम सकेको छ।
रिसोर्टका सञ्चालक कमल हाङवाङले भने, 'चिल्ड्रेन पार्क, स्विमिङ पुल, पार्किङ र कम्पाउन्ड वाल निर्माण भइरहेको छ।' रिजोर्ट निर्माण पूरा गर्दासम्म ५ करोड रुपैयाँ खर्च हुने हाङवाङले बताए।
रिसोर्ट पूर्व–पश्चिम राजमार्गबाट एक किमी दक्षिण सशस्त्र प्रहरीको सुरक्षा बेस क्याम्पसँगै छ। ग्रामीण क्षेत्रको शान्त वातावरणमा स्थापना भएकाले जोकोही आएर बस्न सक्ने हाङवाङ बताउँछन्। हाल १२ जनाले रोजगार पाइरहेको रिसोर्ट पूर्ण रुपमा सञ्चालनमा आइसक्दा २५ जनालाई रोजगारी दिने सञ्चालकको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।