त्रिशुली– बिदुर नगरपालिका वडा नं. ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशुली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ।
१९ दशमलब ४१ मेगावाट क्षमताको आयोजना 'पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालि'ले निर्माण गर्न लागेको हो। तुप्चेस्थित त्रिशुली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रिय रुपमा महत्व राख्ने जलविद्युत् आयोजना सञ्चालन र निर्माण कार्य निर्वाध रुपमा अघि बढ्नुपर्ने बताए।
तुप्चेमा उत्पादन गृह रहने उक्त जलविद्युत् आयोजनाले त्रिशुली थ्री बीबाट निकास भएको पानीलाई प्रयोग गर्ने वातावरणीय प्रभाव मूल्यांकनमा संलग्न कुमार पौडेलले जानकारी दिए। पाँच अर्बको लगानीमा परियोजना तयार हुने बताइएको छ।
इनर्जी डेभलपमेन्ट प्रालिका प्रबन्ध निर्देशक भरतकुमार खड्काले कम लगानीमा बढी आम्दानी हुने आयोजनाका रुपमा यसलाई स्थापित गर्ने बताए।
उत्तरगया धाम क्षेत्र विकास समितिले उक्त परियोजनाले बेत्रावतीमा पानी सुक्ने र त्यसले गर्दा धार्मिक कार्यमा असर पर्ने भन्दै चर्को आलोचना गर्दै आएको छ। सार्वजनिक सुनुवाइ भइरहेको समयमा क्षेत्र विकास समितिले बेत्रावती बजारमा विरोधसभाको आयोजनासमेत गरेको थियो। तर, उत्तरगया धाममा आफ्नो आयोजनाका कारण पानी नसुक्ने खड्काले दाबी गरेका छन्। उनले उत्तरगया धाम हुँदै बग्ने त्रिशुली नदीमा पानी छाडिने प्रतिबद्धता जनाए।
मध्य त्रिशुली गंगा जलविद्युत् आयोजना निर्माण चरणमा नै प्रभावित तथा अति प्रभावित क्षेत्रका नागरिकलाई रोजगारीदेखि क्षमता अनुसारको काममा खटाउने प्रतिबद्धता आयोजनाले सार्वजनिक सुनुवाइमा गरेको छ।
कार्यक्रममा विदुर नगरपालिका प्रमख सञ्जु पण्डित, प्रभावित क्षेत्रका विभिन्न वडाका अध्यक्षहरु, सरोकार भएकाहरु, राजनीतिक दलका प्रतिनिधि तथा संघसंस्थाका पदाधिकारीले मन्तव्य र जिज्ञासा राखेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।