काठमाडौं– वामपन्थीको गढ मानिने बर्दिया क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरे। वाम गठबन्धनले देशभर एकलौटी नतिजा निकाल्दा यसका मुख्य सूत्रधार मानिएका वामदेवको पराजयले धेरैलाई आश्चर्यमा पार्यो।
प्रारम्भिक छानबिनले वामदेवको पराजयमा अन्तरघात कारण देखाएको छ। तर, बामदेवकै व्यक्तिगत आचरणले समेत हारमा ठूलो भूमिका खेलेको छानबिन प्रतिवेदनमा औंल्याइएको छ। एमालेभित्रका प्रभावशाली नेता बामदेव चुनाव हारेपछि अब के गर्लान्? धेरैको प्रश्न थियो।
राष्ट्रपतिमा जान उनले अनिच्छा देखाइसकेका छन्, कार्यकारी पदमा भने काम गर्ने उनको रहर अझै बाँकी नै रहेको देखिन्छ।
चुनाव हारेपछि काठमाडौं आउने बित्तिकै बामदेव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न लाजिम्पाट गएका रहेछन्। भेटका क्रममा उनले चुनाव हारेपछि आफूले गर्न चाहेको कुरा समेत दाहालसँग बताएका रहेछन्।
सो कुराको खुलासा स्वयं माओवादी अध्यक्ष दाहालले शनिबार काठमाडौंको राष्ट्रियसभा गृहमा गरेका छन्। सन्दर्भ थियो, उनै बामदेवले लेखेको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ को विमोचनको।
अतिथिको रुपमा आएका माओवादी अध्यक्ष दाहालले एमाले उपाध्यक्ष समेत रहेका बामदेवको भावी योजनाको रहस्योद्घाटन गरे।
दाहालसँगको भेटमा बामदेवले अब आफ्नो कुनै राजनीतिक महत्वकांक्षा नरहेको भन्दै आर्थिक विकासका कुनै संरचनामा बसेर काम गर्न चाहेको बताएका रहेछन्।
‘उहाँमा राजनीतिक महत्वाकांक्षाभन्दा आर्थिक विकास–निर्माणमा काम गर्ने महत्वाकांक्षा उहाँमा देखिन्थ्यो’, वामदेवतर्फ लक्षित गर्दै दाहालले भने, ‘आर्थिक विकासको कुनै संरचनामा फिट गरिदिए देश निर्माणको काम गर्ने इच्छा उहाँले राख्नुभएको छ।’
राष्ट्रिय राजनीतिमा क्रियाशील रहँदै गर्दा एमाले उपाध्यक्ष गौतमले नेपालको राजनीतिक परिवर्तन र आर्थिक विकासको मार्गचित्र समावेश गरेर लेखिएको पुस्तक ‘नेपाल नवनिर्माण महाअभियान’ प्रकाशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।