काठमाडौं- नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीभित्र मेलमिलापको खाँचो रहेको बताएका छन्।
नेपाल विद्यार्थी संघ प्रदेश नम्बर ३ ले ४२औं राष्ट्रिय मेलमिलाप दिवसको अवसर पारेर शनिबार आयोजना गरेको विचार गोष्ठीमा युवा नेताहरुले नेतृत्वको कार्यशैलीका कारण पार्टी प्रदेशसभा र प्रतिनिधिसभामा पराजित हुन पुगेको बताएका हुन्।
कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले वर्तमान नेतृत्वको सोच र कार्यशैलीबाट पार्टी परिवर्तन नहुने बताए।
'पुरानो डाक्टरबाट कांग्रेसभित्र लागेको रोग निको हुन सक्दैन, त्यसैले रोग निको पार्न युवा नै जागरुक हुनुपर्छ', नेता भण्डारीले भने।
केन्द्रीय सदस्य गगनकुमार थापाले मुलुकमा बिपी कोइरालाले देखाएको प्रजातन्त्रको सिद्धान्तमा कम्युनिस्ट पार्टीहरु आएको भन्दै प्रजातन्त्रलाई बलियो बनाउन कांग्रेस लाग्नुपर्ने बताए।
यस्तै, केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा कांग्रेसले कमजोर नतिजा ल्याएको भन्दै अब कांग्रेसभित्र पुनर्जागरणको खाँचो रहेको बताए। उनले पार्टी र लोकतन्त्रलाई बलियो बनाउन आन्तरिक मेलमिलाप बलियो हुनुपर्नेमा जोड दिए।
केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा टिकट वितरण प्रक्रिया असमान हुँदा पार्टीले कमजोर नतिजा ल्याएको बताए।
'प्रहरी महानिरीक्षक नियुक्ति, प्रधानन्यायाधीश महाभियोग लगायत प्रकरणका कारण पार्टीको जनमत घटेको हो', उनले भने।
नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री उमेशजंग रायमाझीले नेतृत्वको गलत कार्यशैलीका कारण पार्टीले कमजोर नतिजा ल्याएको भन्दै नेतृत्वपंक्ति सच्चिनु जरुरी रहेकोमा जोड दिए।
नेवि संघ प्रदेश नम्बर ३ का संयोजक एवं नेवि संघ उपाध्यक्ष रामप्रसाद अधिकारीले निर्वाचनमा कमजोर नतिजा ल्याएको कांग्रेसलाई पहिलेको अवस्थामा पुर्याेउन नेवि संघले केन्द्र, प्रदेश, जिल्ला हुँदै गाउँसम्म पुनर्जागरण अभियान चलाउने बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।