काठमाडौं- माओवादी केन्द्रले नयाँ सरकार गठन अगाडि नै पार्टी एकतामा जोड दिएको छ। वाम गठबन्धनको मुख्य सहयात्री एमालेले जतिसक्दो चाँडो सरकार गठन गर्नुपर्ने बताइरहेका बेला माओवादी भने पार्टी एकतामा जोड दिनेगरी अगाडि बढेको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनअघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकताको प्रयास भइरहेको बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले नयाँ सरकार गठन गर्न केही समय लाग्ने देखिएकाले पार्टी एकता टुङ्ग्याउने प्रयास भइरहेको बताए।
‘मैले धेरैपटक भनिसकेको छु, पार्टी एकताबाट पछाडि फर्कने ठाउँ नै छैन। पछाडि फर्कने पुल भत्काइसकेका छौं’, दाहालले भने, ‘एमाले अध्यक्ष केपी ओलीसँग लामो र गम्भीर छलफल भएको छ। नयाँ सरकार गठन गर्न केही दिन लाग्ने देखिन्छ, त्यसभन्दा अघि नै पार्टी एकता टुङ्ग्याउने प्रयास गरेका छौं, अब छिटै पार्टी एकता हुन्छ।’
जनताले शान्ति, सुशासन र समृद्धिका लागि ठूलो मौका दिएको उल्लेख गर्दै दाहालले एकताबद्ध भएर जनताको समृद्धिको चाहाना पूरा गर्नुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।