सुर्खेत– नेकपा एमाले ६ नम्बर प्रदेश कमिटीले यो प्रदेशमा अब बन्ने सरकारको नेतृत्व एमालेले छाड्न नहुने भन्दै केन्द्रीय कमिटीको ध्यानाकर्षण गराइसकेको छ। यसै साता बसेको प्रदेश संगठन कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्व एमालेले नै गर्नुपर्ने निर्णय गर्दै उक्त निर्णय केन्द्रीय कमिटीलाई बुझाएको हो।
चुनावी गठबन्धनको सहयात्री दल एमालेले सांगठनिक निर्णय गरेरै प्रदेश सरकारको नेतृत्व दाबी गरिरहँदा अर्को सहयात्री दल माओवादी केन्द्रका नेताहरु पनि प्रदेश ६ को सरकारको नेतृत्व माओवादीले पाउनेमा विश्वस्त देखिन्छन्। सात प्रदेशमध्ये आफ्नो सबैभन्दा बलियो उपस्थिति रहेको प्रदेश ६ को नेतृत्व गठबन्धनले निर्णय गरेरै माओवादीलाई दिनेमा माओवादी नेताहरु विश्वस्त देखिएका छन्। यसका लागि यो प्रदेशका नेताहरु पार्टीभित्र ‘लबिङ’ समेत गरिरहेका छन्।
दीर्घकालीन रुपमा पार्टी एकता गर्ने लक्ष्यसहित चुनावी तालमेल गरेर निर्वाचन लडेका गठबन्धनका दुई दलबीच नै प्रदेश नम्बर ६ को सरकारको नेतृत्व लिन रस्साकस्सी हुने देखिएको छ। प्रदेशको पहिलो दल भएकाले सरकारको नेतृत्व पनि आफैले गर्न पाउनुपर्ने दाबी एमाले नेताहरुको छ भने आफ्नो आधार क्षेत्रको रुपमा रहेको यो प्रदेशको सरकारको नेतृत्व आफूहरुले पाउनुपर्ने दाबी माओवादी नेताहरुको छ।
प्रदेश नम्बर ६ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने ४० जना सांसदको टुंगो लागिसकेको छ। प्रत्येक्षतर्फबाट २४ जना र समानुपातिकबाट १६ सांसदको टुंगो लागेसँगै सबैको ध्यान अब बन्ने मुख्यमन्त्रीको कुर्सीमा छ।
यो प्रदेशमा एमालेबाहेकको सरकार बन्नेछैन। किनभने ४० सदस्यीय प्रदेशसभामा २० सांसद एमालेका छन् भने प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य तीन दलको जोड्ने हो भने पनि २० मात्रै पुग्नेछ। एमाले एकल बहुमतबाट एक अंकले मात्रै पछि परेको छ। प्रदेश ६ मा एमाले–माओवादी गठबन्धनकै सरकार बन्ने देखिन्छ। तर, गठबन्धन बनाएर निर्वाचन लडेका एमाले र माओवादी केन्द्रबीच यो प्रदेशको मुख्यमन्त्री हात पार्न रस्साकस्सी नै हुने देखिएको छ।
प्रदेश सरकार गठनका लागि दुई पार्टीबीच भागबन्डा हुँदा आफूहरूको रोजाइमा प्रदेश ६ नै पहिलो प्राथमिकतामा हुने माओवादी नेताहरू बताउँछन्। यो प्रदेश माओवादीले सञ्चालन गरेको जनयुद्धको उद्गम क्षेत्र पनि हो। माओवादीको अन्य प्रदेशभन्दा बलियो संगठन भएको प्रदेश पनि यही हो। स्थानीय तहको निर्वाचन र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको परिणाम हेर्ने हो भने पनि यो प्रदेशमा एमाले, कांग्रेस र माओवादीको करिब समान हैसियत छ। तर, प्रत्यक्षतर्फ एक सिट मात्रै जितेको नेपाली कांग्रेस मुख्यमन्त्रीको होडबाट बाहिरिसकेको छ। प्रदेशसभामा कांग्रेसबाट ६ जना मात्रै सांसद रहनेछन्।
प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फको निर्वाचनमा पहिलो बनेको एमाले नेताहरु सरकारको नेतृत्व छाड्न तयार देखिँदैनन्। मुख्यमन्त्रीकै आशासहित प्रदेशसभामा चुनाव लडेका एमालेका केन्द्रीयस्तरका नेताहरु विशेषगरी अहिले एमालेले सरकारको नेतृत्व पाउनुपर्ने ‘लबिङ’मा लागिरहेका छन्। मुख्यमन्त्रीका प्रमुख दावेदार एवं एमाले पोलिट्ब्युरो सदस्य यामलाल कँडेल यो प्रदेशको सरकारको नेतृत्व एमालेले नै गर्ने बताउँछन्।
‘एमालेबिना यो प्रदेशमा सरकार बन्दैन’, कँडेलले भने, ‘प्रदेशसभाको कुल सदस्य संख्याको आधा सीट हामीसँग छ, त्यसैले पनि हामीले नै सरकारको नेतृत्व गर्नेछौं।’
उनले दुई दलले भागबन्डा गरेर सरकार बनाउने अवस्था आएमा पनि माओवादीलाई प्रदेश ६ बाहेक अन्य प्रदेश दिन केन्द्रलाई आग्रह गरिएको जनाए।
माओवादीबाट मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही भने प्रदेश ६ को सरकारको नेतृत्व माओवादीले नै गर्ने बताउँछन्।
उनले भने, ‘माओवादीको सबैभन्दा बलियो प्रदेश नै यही हो, त्यसमाथि अहिले गठबन्धनमा रहेका दुई पार्टीबीच मिलाउँदा यो हाम्रो भागमा पर्छ।’
दुवैको दलका प्रमुख दाबेदार
एमालेबाट पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य यामलाल कँडेल मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्। उनी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रतिनिधिसभामा नगई प्रदेशसभामा बसेका थिए। त्यस्तै, अर्का पोलिटब्युरो सदस्य प्रकाश ज्वाला पनि मुख्यमन्त्रीको अर्का आकांक्षी हुन्। यदि यो प्रदेशको मुख्यमन्त्री एमालेले पाएमा कँडेल र ज्वालाबीच कसलाई बनाउने भन्ने अर्को रस्साकस्सी हुने देखिन्छ।
त्यसो त माओवादीभित्र पनि मुख्यमन्त्रीका आकांक्षी धेरै छन्। वर्तमान सरकारका बिनाविभागीय मन्त्री महेन्द्रबहादुर शाही र नेता नरेश भण्डारी माओवादीबाट मुख्यमन्त्रीका प्रमुख आकांक्षीका रुपमा अघि आएका छन्। उनीहरु दुवैले सार्वजनिक रुपमै पनि मुख्यमन्त्रीको दाबी गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।