अबुजा– नाइजेरियाको उत्तरपूर्वी राज्य बोर्नोमा आतंककारी समूह बोको हरामले गरेको आक्रमणमा परी २२ जना किसानको मृत्यु भएको प्रहरीले जनाएको छ।
दमासाक सहरबाट ५० किलोमिटर टाढा रहेको नाम्गाम गाउँमा सोमबार किसानहरूको एक समूहलाई बोको हराम लडाकूले आक्रमण गरेको र सो आक्रमणमा परी २२ जनाको मृत्यु भएको सैनिक अधिकारीहरुले जानकारी दिएका छन्।
गोली लागि घाइते भएका दर्जनौं महिला र बालबालिका दमासाक सहरनजिक शरणको खोजीमा आइपुगेका छन्।
मंगलबार नाम्गामाबाट १८ जनाको शव बरामद भएको सरकार समर्थित स्थानीय नागरिक समूहका प्रमुख उसमान बालाले बताए।
स्थानीय बासिन्दाको सहयोगमा नै उद्धारकार्य जारी रहेको बताइएको छ।
नाइजेरियाको उत्तरपूर्वी इलाकामा एक दशक यता बोको हराम आतंककारी समूहले हिंसात्मक गतिविधि गर्दै आएका छन्। यस द्वन्द्वमा परी हजारौं व्यक्तिको ज्यान गइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।