नुवाकोट- राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको बहुचर्चित ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी’ सडक योजनाको काम तीव्र बनाइएको छ।
काम सुरु भएको एक वर्षमा १० प्रतिशत मात्र सम्पन्न भएपछि तोकिएको लक्ष्य पूरा गर्न पुस १ गतेदेखि दैनिक ८ घण्टा सवारीसाधन सञ्चालनमा रोक लगाएर काममा दिइएको तीव्रताले पछिल्लो समय प्रगति उत्साहजनक रहेको योजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए।
२०७३ पुस १ देखि सुरु भएको सडकको स्तरोन्नति तथा विस्तारको काम २१ महिनामा पूरा गर्नुपर्ने भए पनि निराशाजनक भएपछि लक्ष्य पूरा गर्न यातायात सञ्चालन बन्द गरी युद्धस्तरमा तीव्रता दिई तोकिएको समयमा पूरा गर्न सक्षम रहेको योजना प्रमुख देवकोटाको भनाइ छ। 'सडक निर्माणको काम ढिलाइ हुनुका कारण खोजेर त्यसको समाधानका लागि प्रयास भइरहेकाले काममा तीव्रता र उत्पन्न समस्या समाधान पनि सँगसँगै अघि बढाइएको छ,' उनले भने, 'सडक विस्तारका लागि घर, टहरा र जग्गाको मुआब्जा वितरण, सामुदायिक वन क्षेत्रमा सडक विस्तारका लागि अनुमति र विद्युतीय खम्बा स्थानान्तरणको समस्या समाधानको प्रयास भइरहेको छ।'
सडक विस्तारको काम सम्झौता अवधिभन्दा ६ महिना थप गरी २७ महिना पुर्याइएको छ। पहिलो पटक थप भएअनुसार २०७५ फागुन ५ मा आयोजना सम्पन्न हुन्छ।
पृथ्वी राजमार्गस्थित धादिङको गल्छीबाट सुरु भएर देवीघाट–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी हुँदै चीनको केरुङ प्रवेशद्वारसम्म जोडिने सडक ८२ किमी लम्बाइको हुनेछ। सडक निर्माणअन्तर्गत ठेकेदार कम्पनीमार्फत भइरहेको ४६ किमी सडक (गल्छी–त्रिशूली–मैलुङ) को काम सम्झौता भएर काम सुरु भएको एक वर्षमा १० प्रतिशत मात्र भएपछि सुधार गर्न ठेकेदार पक्ष कोभेक, टुण्डी र रसुवा कन्स्ट्रक्सन पक्षसमेतले प्रतिबद्धता जनाएका छन्। सडक विस्तारमा उत्पन्न समस्या सरकारी पक्षले समाधान गरेमा योजना पूरा गर्न सक्षम रहेको ठेकेदार पक्षका इन्जिनियर गौरीशंकर महतोले दाबी गरे।
गल्छीबाट सुरु भएर चीनसँगको सीमा क्षेत्र रसुवागढीसम्म जोड्ने सडक दुई लेनमा हुने भए पनि धादिङको गल्छी बजार र नुवाकोटको गँगटेदेखि ढुंगे बजारसम्म चार लेन बनाउन लागिएको छ। दुई लेन सडकमा ११ मिटर कालोपत्र हुने र सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर जग्गा अतिक्रमण गरिने आयोजना पक्षले जनाएको छ।
नेपाली सेना, ठेकेदार पक्ष र चीन सरकारमार्फत तीन खण्डमा काम भइरहेको छ। गल्छीबाट मैलुङसम्मको ४६ किमी सडक ठेक्का पाएका तीन कम्पनीमध्ये टुण्डी निर्माण कन्स्ट्रक्सनले गर्दै आएको छ। रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १८ किमी सडक नेपाली सेना र बाँकी स्याफ्रुबेँसीबाट रसुवागढीसम्मको १८ किमी सडक चीन सरकारले निर्माण जारी राखेका छन्।
रु ९ अर्ब ५० करोड लगानीमा निर्माण गर्न लागिएको सडकखण्डमध्ये ठेकेदार टुण्डी कम्पनीले रु ३ अर्ब ६३ करोड ९१ लाखमा ४६ किमी सडक निर्माण पूरा गर्ने जिम्मेवारी पाएको हो।
चीनबाट नेपाल हुँदै भारत जोड्ने सबैभन्दा व्यवस्थित र छोटो दूरीको अन्तर्राष्ट्रिय सडक मार्गसमेत भएकाले रसुवा, नुवाकोट र धादिङसहित सिंगो मुलुकको आर्थिक विकासका लागि यो सडकलाई सामरिक महत्वका रुपमा समेत हेरिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।